जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले रसुवा बाढी पीडितका लागि कोशी प्रदेशका १४ वटै जिससबाट एकलाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ।
जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिका अध्यक्ष तथा जिसस ताप्लेजुङका प्रमुख छिरिङ लामाका अनुसार कोशी प्रदेशका १४ वटै जिससबाट कम्तिमा एकलाख रुपैयाँका र जिससका पदाधिकारी तथा सदस्यबाट थप सहयोग हुने निर्णय भएको छ। लामाका अनुसार कोशी प्रदेशका जिसस प्रमुखले १५ हजार,उपप्रमुखले १० हजार र प्रदेशभरीका जिसस सदस्यहरुले ५ हजार रुपैयाँका दरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहायता गर्ने निर्णय भएको छ।
जिसस महासंघ प्रदेश समितिले कोशी प्रदेशमा ४२ वटा हिमताल फुट्न सक्ने जोखिम रहेको औंल्याउँदै भावी दिनमा यस्ता विपद्बाट ठूलो जनधनको क्षति नहोस् भन्ने मनशायका साथ प्रदेश भित्र रहेका नदी तथा खोला किनारका नागरिकलाई पूर्व सावधानीका लागि आवह्वान समेत गरेको छ।
जिसस महासंघको कोशी प्रदेश समितिले प्रादेशिक नीति,नियम तथा नियमावली निर्माण गर्नुअघि आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न माग समेत गरेको छ। स्थानीय तहसंग सम्वन्धित बिषयमा समन्वय र सहकार्य गर्न कोशी सरकारको ध्यानकृष्ट गर्दै जिसस महासंघको प्रदेश समितिले प्रादेशिक नीति,नियम तथा नियमावली निर्माण गर्नुअघि आफुहरुको उपस्थितिमा छलफल र परार्मश गर्न समेत कोशी सरकारलाई आग्रह गर्ने निर्णय गरेको समिति अध्यक्ष लामाले जानकारी दिए।
समितिले कोशी प्रदेश भित्र रहेका गैर सरकारी,निजी क्षेत्र र वित्तीय संस्थाहरुलाई लोकतन्त्रको मूल्य र मान्यता अनुसार भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता कायम राख्न आवह्वान समेत गरेको छ। तीनवटै तहका सरकारहरुले सञ्चालन गरेका विकास निर्माणका कतिपय आयोजनाहरु रुग्ण अवस्थामा रही लामो समयसम्म निर्माण कार्य पूरा नहुने अवस्थामा रहेको औंल्याउँदै जिसस महासंघको कोशी प्रदेश समितिले ति आयोजनाहरु अविलम्ब पूरा गराउने दिशामा केन्द्रित हुन सम्वन्धित पक्षलाई ध्यानाकर्षण समेत गराएको छ।
प्रकाशित: १६ भाद्र २०८३ ११:४३ मंगलबार





