३० असार २०८३ मंगलबार
image/svg+xml
समाज

निर्माण सम्पन्न भएको तीन महिनामै ढल्यो कोहलपुर–सुर्खेत प्रसारण लाइनको टावर

ठूलो प्रतीक्षापछि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा दुई वटा विद्युत् टावर (पोल) ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति फेरि प्रभावित बनेको छ।

निर्माण सम्पन्न भएको तीन महिना नबित्दै सामान्य हावाहुरीपछि टावर ढल्न थालेपछि आयोजना निर्माणको गुणस्तर र प्राविधिक निगरानीमाथि गम्भीर प्रश्न उठेको छ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार केही दिनअघि आएको हावाहुरीका क्रममा रुख ढलेर टावरमा क्षति पुगेको थियो। शनिबार थप दबाबका कारण दुई वटा टावर पूर्ण रूपमा ढलेपछि १३२ केभी प्रसारण लाइन बन्द भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अधिकारीहरूका अनुसार लाइन अवरुद्ध भएपछि सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा विद्युत् आपूर्ति पुनः अनियमित बनेको छ। अहिले वैकल्पिक प्रणालीमार्फत सीमित विद्युत् आपूर्ति गर्ने प्रयास भइरहेको बताइएको छ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने उद्देश्यसहित निर्माण गरिएको राष्ट्रिय गौरवको महत्त्वपूर्ण पूर्वाधारमध्ये एक मानिन्छ।

बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म करिब ७५ किलोमिटर दूरीमा फैलिएको यो प्रसारण लाइन निर्माणका लागि करिब एक दशकभन्दा बढी समय लागेको थियो।

आयोजनाको अवधिभर जग्गा अधिग्रहण विवाद, वन क्षेत्रको अनुमति, ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण पटक–पटक समय थप गरिएको थियो। सुरुमा तोकिएको समयमै निर्माण सम्पन्न हुन नसक्दा लागत समेत उल्लेख्य रूपमा बढेको थियो।

प्रकाशित: २६ वैशाख २०८३ १७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App