भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युमा कलेज प्रशासन दोषी भएको प्रतिवेदन बुझाइएको छ। कलेज प्रशासनको ‘अवैध र गैरकानुनी’ गतिविधिका कारण दुई छात्राले ज्यान गुमाएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाइएको भारतका विभिन्न सञ्चार माध्यमले जनाएका छन्।
घटनाबारे छानबिन गर्न गठित समितिले जाँचबुझ प्रतिवेदन बुझाउँदै कलेज प्रशासनलाई दोषी देखाएको हो। दुवै घटनाबारे विश्वविद्यालय अनुदान आयोग (युसिजी) ले गठन गरेको समितिले ‘विश्वविद्यालयले यौन दुर्व्यवहारका उजुरीहरूमा कानुनी रूपमा कार्य नगरेको, छात्रावास सुविधा अपर्याप्त भएको, अनुमतिभन्दा बढी विद्यार्थी भर्ना गरेको र विद्यार्थीहरूमाथि बल प्रयोग गरेको जस्ता कुराहरू प्रमुख कमजोरी’का रूपमा औंल्याइएको छ। भारतको अखबार टाइम्स अफ इन्डियाले नेपाली विद्यार्थीको मृत्युप्रति ‘कलेज प्रशासन’ लाई जिम्मेवार ठहर्याउनुपर्ने भनेको छ।
कलेजको ‘अवैध र गैरकानुनी गतिविधि’ ले नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै त्यस्ता गतिविधि फौजदारी दायित्वअन्तर्गत समेत पर्ने प्रतिवेदनमा उल्लेख छ। समितिले दोषी अधिकारीहरूलाई कानुनी कारबाही गर्नुपर्ने, विश्वविद्यालयको विस्तार तत्काल रोक्नुपर्ने र विदेशी विद्यार्थी सुरक्षामा सुधार गर्नुपर्ने सिफारिस गरेको छ। विश्वविद्यालयले प्रतिष्ठालाई प्राथमिकता दिँदै कानुनी प्रक्रियामा बेवास्ता गरेको निष्कर्ष समितिले निकालेको छ।
किट विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल २०८१ फागुन ४ मा कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन्। आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे प्रकृतिले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। तर कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन्। त्यसपछि प्रकृतिले न्याय पाउनुपर्ने भन्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो। कलेज प्रशासनको निर्देशनमा सुरक्षा गार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले छात्रावास छाडेर जान निर्देशन दिएको थियो। घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो।
यो प्रकरणमा गम्भीर अनुसन्धानको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका बेला कलेज प्रशासनले छात्रावास छाडेर जानसमेत चेतावनी दिएको थियो। पछि यो विषयलाई लिएर नेपाल सरकारले समेत कूटनीतिक पहल गर्नुपरेको थियो। कलेज प्रशासनले पछि केही कर्मचारीलाई कारबाही गरेको थियो भने सुरक्षागार्डहरू पनि पक्राउ परेर छुटेका थिए।
एक भारतीय युवकलाई समेत प्रहरीले पक्राउ गरेको थियो। अहिले युवा अदालतबाट धरौटीमा छुटिसकेका छन्। तर पछि वैशाख १८ मा कलेजमा फेरि अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत अवस्थामा भेटिएकी थिइन्।
समितिले दोषी अधिकारीहरूलाई कानुनी कारबाही गर्नुपर्ने, विश्वविद्यालयको विस्तार तत्काल रोक्नुपर्ने र विदेशी विद्यार्थी सुरक्षामा सुधार गर्नुपर्ने सिफारिस गरेको छ। विश्वविद्यालयले प्रतिष्ठालाई प्राथमिकता दिँदै कानुनी प्रक्रिया अघि बढाउन बेवास्ता गरेको निष्कर्ष समितिले निकालेको छ। यो घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ भने नेपाल सरकारले कूटनीतिक तहमा चासो व्यक्त गरेको थियो।
यो विषयमा नागरिक दैनिकले कलेज प्रशासन दोषी रहेको भन्दै वैशाख ३१ मा समाचार प्रकाशन गरेको थियो। किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले आफूलाई त्यहीँ पढ्ने छात्रले मानसिक प्रताडना दिइरहेको विषयमा पटकपटक विश्वविद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनले ध्यान नदिएको विषयमा नागरिकले स्थलगत रूपमा रिपोर्टिङ गरी समाचार प्रकाशन गरेको थियो।
आफ्नो समस्याबारे प्रशासनलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि प्रकृतिले आत्महत्या रोजेको घटना विवरणले देखाएको थियो। ‘पहिलोपटक जानकारी गराउँदा किट विश्वविद्यालय प्रशासनले सुनुवाइ गरेको थिएन। दोस्रोपटक त्यसरी ह्यारेसमेन्ट गर्ने छात्रलाई प्रशासनले तीन महिनाका लागि निष्कासन गरेको थियो। त्यसपछि विश्वविद्यालय गएका ती छात्रले प्रकृतिलाई मानसिक रूपमा थप दुःख दिएको पाइयो। यस विषयमा जानकार हुँदाहुँदै पनि विश्वविद्यालय प्रशासनले ती छात्रलाई कडा कारबाही गरेको देखिएन,’ भुवनेश्वरस्थित प्रहरी कमिसनर कार्यालय स्रोतले जानकारी दिएको थियो। अद्विक श्रीवास्तव नाम गरेका ती छात्रलाई विश्वविद्यालयले थप कारबाही नगर्दाको परिणाम प्रकृतिको ज्यान गएको स्रोतको दाबी छ।
यो विषयमा किट विश्वविद्यालयका प्रमुख जनसम्पर्क अधिकृत श्रद्धाञ्जली नायकले पनि प्रकृतिलाई दुरुत्साहन भएको स्वीकार गरेकी छन्। उनले त्यतिबेला किटका तर्फबाट केही कमजोरी भएको र आत्महत्याका लागि दुरुत्साहन गर्ने छात्रलाई एकपटक तीन महिनाका लागि विश्वविद्यालयबाट निष्कासन गरेको पनि सकारेकी छन्। ‘आत्महत्याका लागि दुरुत्साहन गर्ने छात्रलाई विश्वविद्यालय प्रशासनले तीन महिनाका लागि निष्कासन गरेको थियो। ऊ फेरि विश्वविद्यालयमा आएपछि प्रकृतिले आत्महत्या गर्नुपर्यो। यस विषयमा विश्वविद्यालय प्रशासनको पनि कमजोरी रह्यो कि भन्ने हाम्रो बुझाइ छ,’ उनले नागरिकसँग भनेकी थिइन्।
प्रकृतिले आफूलाई ती छात्रले मानसिक रूपमा प्रताडित गरिरहेको भन्दै दुई पटक विश्वविद्यालय प्रशासनलाई जानकारी गराएकी थिइन्। तर प्रशासनले त्यसलाई गम्भीर रूपमा नलिँदा दुःखद घटना हुन पुगेको देखिन्छ।
प्रकृतिलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेका छात्र भाग्ने क्रममा भुवनेश्वर विमानस्थलबाट पक्राउ परेका थिए। प्रकृतिका आफन्तले इन्फोसिटी प्रहरी चौकीमा दिएको उजुरीका आधारमा २१ वर्षीय श्रीवास्तवलाई पक्राउ गरिएको थियो तर अहिले उनी छुटिसकेका छन्।
गत फेब्रुअरी १६ मा प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले दिएको उजुरीका आधारमा सोही दिन श्रीवास्तवलाई विमानस्थलबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उजुरीको दर्ता नम्बर ५४ छ। भुवनेश्वर प्रहरी कमिसनर डा. सुरेश देवदत्त सिंहले अरोपित थुनामा रहेको तर माथिल्लो अदालतले छाडेको बताएका छन्।
भारतीय दण्ड संहिताअन्तर्गत आत्महत्या दुरुत्साहनमा पक्राउ परेका श्रीवास्तवलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। त्यतिबेला प्रहरीले अनुसन्धान प्रक्रियाका लागि सम्बन्धित दस्ताबेज तथा विद्युतीय सामग्री जफत गरेको थियो। ‘आरोपित श्रीवास्तवमाथि आत्महत्या उक्साहटसम्बन्धी कसुर र साइबर मुद्दा दर्ता भएको छ,’ कमिसनर सिंहले भने, ‘मृतकको मोबाइल, ल्यापटपलगायत बरामद गरेर जाँच गर्दा प्रमाण पुष्टि भएको छ।’
भारतीय दण्ड संहिताको धारा ३०६ मा आत्महत्या गर्न उक्साउने कसुर प्रमाणित भए अधिकतम १० वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान छ । प्रकृतिको मृत्यु प्रकरणमा आरोपित जेल चलान भएपछि प्रहरी अनुसन्धान टुंगिएको छ। लम्सालका नातेदार सिग्देलको किटानी जाहेरीमाथि अनुन्धान गरी भुवनेश्वर प्रहरीले त्यहाँको अदालतमा आरोपपत्र दर्ता गराएको हो। लम्साल नाताले सिग्देलकी ‘कजन’ (बहिनी) हुन्।
प्रकाशित: ७ श्रावण २०८२ ०७:३३ बुधबार





