१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

प्राकृतिक रूपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ। पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका छन्।

मुलुकभरका गाउँपालिकामध्ये स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँले सञ्चालन गर्नेमा पहिलो भएको किस्पाङ गाउँपालिकाले सामान्य चिकित्सा र डिप्लो इन फार्मेसीको कोर्स पूरा गर्न एक लाख ९५ हजार रुपैयाँ मात्रै शुल्क लिँदै आएको छ। किस्पाङ गाउँपालिका–३, काहुलेमा २०८० सालमा स्थापत सो शिक्षालयले पहिलो व्याच ढिलो सम्बन्धनका कारण डिप्लोमा इन फार्मेसीमात्र भर्ना गरेको थियो। दोस्रो ब्याचका सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्ण रूपमा तथा तेस्रो ब्याचको सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्ण हुने गरी भर्ना गरेको छ।

सातै प्रदेश र ३१ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने हिसाबले पनि यो शिक्षालय सम्भवतः मुलुककै पहिलो शिक्षालय बनेको छ। गृह जिल्ला नुवाकोटका ३० प्रतिशत र  बाँकी अन्य जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत रहँदा किस्पाङ अहिले शैक्षिक पर्यटनको गाउँ बन्न पुगेको छ। यहाँ बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी शिक्षालयकै होस्टेलमा बसेर पढ्छन्। केहीले शिक्षालय वरपर डेरा लिएका छन्।

प्राविधिक शिक्षालयमा स्वास्थ्य सहायक (एचए) मा अध्ययनरत सङ्खुवासभाकी सङ्गीता मगर, सल्यानकी धनसोरी बुढाथोकी, महोत्तरीकी प्रियङ्का यादव, सर्लाहका अर्पितकुमार दास र रौतहटकी आकृति चौधरी विभिन्न जिल्लाबाट जोडिए पनि आफूहरू अब एकै शिक्षालयको शिक्षार्थी भएकामा खुसी देखिन्छन्। यस्तै बाजुराकी कोपिला विश्वकर्मा र प्रमिला दानी मात्र होइन डिप्लोमा इन फार्मेसी पढिरहेकी सुर्खेतकी विजया गुरूङ यसरी धेरै जिल्लाबाट आएका साथीहरूसँग आफूहरूको सांस्कृतिक सिकाइ पनि भएको बताउँछन्।

डिप्लोमा इन फार्मेसी अध्ययनरत अछामका नवीन बयक र एचए दोस्रो वर्षमा अध्ययनरत सुर्खेतका पवन बरालले प्राविधिक शिक्षा पढाइसँगै नयाँनयाँ साथीहरू बनेकामा फरक अनुभूति गरेको बताए। रोचक कुरा, यही शिक्षालयमा पिता डिल्ली ढकाल र छोरी सलिना ढकाल फार्मेसीको विद्यार्थीका रूपमा छन्। नुवाकोटको लिखु गाउँपालिका–२, ढिकुरे निवासी ढकाल पढाइ पूरा गरेर गाउँमै फार्मेसी खोल्ने योजनामा रहेका छन्।

“ग्रामीण भेगमा पनि यस प्रकारको शिक्षा उपलब्ध हुनु हाम्रा लागि राम्रो कुरा हो”, डिल्ली ढकालले भने।

कैलालीको घोडाघोडी नगरपालिका–२ बाट किस्पाङमा प्राविधिक शिक्षा हासिल गर्न आएका शैलेश गिरी भौगोलिक दूरी टाढा भए पनि सुलभरुपमा पढ्न पाइने भएकाले यहाँ आएको बताउँछन्। गिरीसँगै शिक्षालयमा १७ विद्यार्थी भक्तपुरको गठ्ठाघरस्थित लोमस फर्मास्युटिकल्समा प्रयोगात्मक अभ्यासका लागि खटिएका छन्। तीमध्ये गिरीसहित केहीले अहिले नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालमा प्रयोगात्मक काम गरिरहेका छन्।

नुवाकोटकै सूर्यगढी–५ की विद्यार्थी अञ्जली गिरी शिक्षालयमा छात्राका लागि व्यवस्थित र सुरक्षित आवास रहेको बताउँछन्। किस्पाङ–१, भाल्चेका रुवन तामाङ समग्रमा शिक्षालयको पढाइ राम्रो रहेको प्रतिक्रिया दिन्छन्। उनीहरू दुवैले पढाइ सकेर मेडिकल खोल्ने तयारी गरेका छन्।

शिक्षालयका प्रमुख विनोद न्यौपानेका अनुसार देशको समग्र झलक शिक्षालयमा पाइन्छ। शिक्षालयमा पहिलो वर्षमा सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी ४०÷४० विद्यार्थी रहेकामा छात्रवृत्तिमा अध्ययनमा तीन विद्यार्थी छन्। प्रदेशअनुसार सामान्य चिकित्सातर्फ ६ प्रदेशका विद्यार्थी र डिप्लोमा इन फार्मेसीतर्फ सातै प्रदेशका विद्यार्थी छन्। विभिन्न विषय र वर्षमा गरेर बारा, रौटहट, पर्सा, सर्लाही, बझाङ, बाजुरा, धादिङ, दोलखा, हुम्ला, कालिकोट, नुवाकोट, रसुवा, रोल्पा, सङ्खुवासभा, बैतडी, बाजुरा, बर्दिया, धादिङ, हुम्ला, कालीकोट, कञ्चनपुर, नुवाकोट, ओखलढुङ्गा, रौतहट, सर्लाही, सिन्धुली र तनहुँका विद्यार्थी अध्ययनरत छन्।

दोस्रो वर्षमा प्रदेशगत रूपमा बागमतीका २७, गण्डकीका एक, कर्णालीका १७, मधेसका २६ र  सुदूरपश्चिमका चार विद्यार्थी अध्ययनरत छन्। तेस्रो वर्षमा विभिन्न प्रदेश र जिल्लाका गरी १७ विद्यार्थी छन्। “होस्टेल सुविधाका साथै शिक्षालयमै उत्पादन गरिएको अर्गानिक तरकारी प्रयोग गरेर विद्यार्थीलाई गाउँघरको अनुभूति दिइएको छ।”

शिक्षालय प्रमुख न्यौपानेले भने, “हामीले समयसमयमा अतिथिलाई कक्षा दिलाउनाका साथै खेलकुद सप्ताह, हाजिरीजवाफ, वक्तृत्वकला, सरस्वती पूजा, वनभोज, नारी दिवस तथा होली उत्सवजस्ता कार्यक्रम गर्दै आएका छौँ। यसले विद्यार्थीमा उत्साह पैदा गरेको छ।”

गाउँपालिकाका अध्यक्ष एवं शिक्षालय सञ्चालक समितिका अध्यक्ष वीरवल तामाङ ३१ जिल्लाका विद्यार्थी आएर पढ्नु भनेको किस्पाडको पानीलाई ती विद्यार्थीहरूले प्रसादका रूपमा लिन पाएको अवसरमा रूपमा आफूहरूले लिएको बताउँछन्।

गाउँपालिको आय विस्तार र राष्ट्रका लागि उद्यमशीलताको विकासको शिक्षालय एक कोसेढुङ्गा हुने उनले बताए। यसलाई आफूहरूले सेवाका रूपमा लिएको र पर्यटकीय विकासका लागि पनि आधार हुने तामाङले विश्वास व्यक्त गरे।

गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने  दरबन्दी पूर्ण हुने गरी नियमित भर्ना हुनु र विद्यार्थीहरूबाट अहिलेसम्म सकारात्मक प्रतिक्रिया प्राप्त हुनुले शिक्षालयको भविष्य उज्ज्वल रहेकामा सन्देह नरहेको बताउँछन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट भवन निर्माणका लागि एक करोड रुपैयाँको निर्माण कार्य भएको सो शिक्षालयमा आर्थिक वर्ष २०८२/८३ का लागि सोही मन्त्रालयले तीन करोड विनियोजन गरेकामा अहिले शिक्षालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेको छ। उनले क्रमशः गाउँपालिकाले बजेट बढाउँदै प्रयोगशालालगात पूर्वाधार विकास गरी शिक्षालयलाई नमुना बनाइने बताए।

दक्ष र अनुभवी प्रशिक्षबाट अध्ययन अध्ययापन भइरहेकामा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा पढेका डा. आशिष दाहाललगायत पूर्णकालीन शिक्षक सात, कर्मचारी पाँच र अल्पकालीन १३ जना कार्यरत छन्। शिक्षालयमा पुस्तकालयमा पर्याप्त पुस्तकका साथै आधुनिक एवं सुविधा सम्पन्न कम्प्युटर, आवश्यक प्रयोगशाला उपकरण र रसायन सामग्री उपलब्ध छन्।

प्रकाशित: ११ वैशाख २०८३ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App