२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

थापाथली र गैरीगाउँको सुकुमबासी बस्ती खाली: १४१ जनालाई आश्रममा सारियो

<br>

सरकारले बागमती नदी किनारस्थित थापाथली र गैरीगाउँ क्षेत्रका अनधिकृत सुकुमबासी बस्ती पूर्ण रूपमा खाली गराएको छ।

बस्ती हटाउने क्रममा भेटिएका वास्तविक भूमिहीन ३४ परिवारका १४१ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्सङ्ग आश्रममा स्थानान्तरण गरिएको छ।

सार्वजनिक तथा सरकारी पर्ती जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सरकारले बिहीबारदेखि नै माइकिङ गरेर सूचित गरेको थियो।

सूचनापछि शुक्रबार र शनिबार बिहानैदेखि केही परिवारले आफैं घरटहरा खाली गरेका थिए।

काठमाडौं महानगरपालिकाका अनुसार स्थानीयलाई सामान सार्न थप समय दिँदै शनिबार बिहान ६ बजेको सट्टा करिब ८ बजेबाट मात्रै संरचना भत्काउन सुरु गरिएको थियो।

थापाथली क्षेत्रका संरचना पूर्ण रूपमा हटाएपछि मध्याह्नदेखि गैरीगाउँका संरचना भत्काइएको हो। बस्ती खाली गराउने क्रममा घरबारविहीन तथा वास्तविक भूमिहीनहरूलाई दशरथ रङ्गशालामा ल्याएर तथ्याङ्क सङ्कलनको काम भइरहेको छ।

महानगरका अनुसार शनिबार साँझ ५:५० बजेसम्म ६८ परिवारको लगत सङ्कलन भइसकेको छ।जसमध्ये ३४ परिवारलाई बेलुकै आश्रममा पठाइएको हो।

यसैगरी, लगत सङ्कलनका क्रममा रङ्गशालामा १८ जनालाई आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ।

महानगरका अनुसार नदी किनारका अतिक्रमण हटाउने अभियान आइतबार पनि जारी रहनेछ। भोलि मनोहरासहित अन्य क्षेत्रका अव्यवस्थित बस्तीहरू खाली गराइनेछ।

प्रकाशित: १२ वैशाख २०८३ १८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App