२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

वास्तविक सुकुमबासीलाई दुई साताभित्रै नागार्जुनको अपार्टमेन्टमा सारिने

सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गराउन सुरु गरेको छ। पहिलो दिन थापाथलीस्थित बागमती नदी किनारको अव्यवस्थित बस्ती शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गराइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहले स्थानीयको सहयोगमा बस्ती हटाउने काम शान्तिपूर्ण भएको जानकारी दिए।

सल्लाहकार शाहका अनुसार घरबारविहीन भएको बताउने परिवारलाई तत्काल दशरथ रङ्गशाला लगेर विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलमा राख्ने तयारी सरकारले गरेको छ।

‘होटलमा राखिएका परिवारहरू वास्तविक सुकुमबासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ,’ सल्लाहकार शाहले भनेका छन्, ‘वास्तविक सुकुमबासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ।’

नागार्जुनको अपार्टमेन्टमा सारेलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने सरकारको योजना छ। हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि आउने क्रम जारी छ।

शनिबार सम्पर्कमा आएकामध्ये घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई ‘स्क्रिनिङ’ का लागि दशरथ रङ्गशाला लगिएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार उपत्यकाका विभिन्न पाँच स्थानमा गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्। जसमा सबैभन्दा धेरै शान्तिनगरमा ४७६ घरधुरी छन् भने गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ घरधुरी रहेका छन्।

प्रकाशित: १२ वैशाख २०८३ १८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App