नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्। समाजको गए राति सम्पन्न मतगणनाअनुसार खतिवडाले ४६० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रा डा खुमनारायण पौडेलले ३६६ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा डा वसन्तराज अधिकारी र महासचिवमा शिवकुमार बाँस्कोटा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नारायण बाँस्कोटाले जानकारी दिए।
यसैगरी, उपमहासचिवमा गोविन्द ओझा ४२३ मत ल्याई निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण पाण्डेले ३७६ मत प्राप्त गरे। कोषाध्यक्षमा सुमिला पौडेल र सदस्यमा विनोद केसी, रोशन न्यौपाने र धीरेन्द्रप्रसाद पाण्डे निर्वाचित भएको निर्वाचन समितिका संयोजक बाँस्कोटाले बताए।
कुल एक हजार १४२ सदस्य रहेको उक्त समाजको शुक्रबार विद्युतीय माध्यमबाट भएको मतदानमा ८३४ जनाले मतदानमा भाग लिएका थिए। उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ। नवनिर्वाचित अध्यक्ष खतिवडाले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ३१ श्रावण २०८२ ०८:५७ शनिबार





