काठमाडौं महानगरपालिकाले सूचना प्रविधि विभागअन्तर्गत सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन केन्द्र स्थापनाका लागि सेवा करारमा जनशक्ति पदपूर्तिका लागि विज्ञापन गरेको छ।
कार्यविधि, २०७९ बमोजिमको यो सूचना प्रथम पटक २०८२/०६/०९ मा प्रकाशित भएको हो। महानगरका अनुसार योग्य नेपाली नागरिकहरूले २१ दिनभित्र एक हजार रुपैयाँ राजस्व तिरेर अनलाइन आवेदन दिन सक्नेछन्।
तर यो विज्ञापन केन्द्र सरकारको निर्देशनसँग बाझिएको भन्दै आलोचना भइरहेको छ। अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै खर्च कटौती गर्नका लागि सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनेको थियो।
साथै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक पदाधिकारीका लागि सल्लाहकार नियुक्ति गर्न नपाउने स्पष्ट उल्लेख छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि स्थानीय तहमा अस्थायी तथा सेवा करार जनशक्ति व्यवस्थापनसम्बन्धी निर्देशन जारी गरेको छ।
अर्थ मन्त्रालयको प्रतिबन्ध उल्लंघन नगरेको दाबी महानगरको छ। सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले दरबन्दीका आधारमा नै विज्ञापन खोलिएको जानकारी दिए। उनका अनुसार यो स्वीकृत दरबन्दी बाहेकको विज्ञापन होइन।


प्रकाशित: १० आश्विन २०८२ १२:०९ शुक्रबार





