१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

'कर्णाली उठ्दैछ, जुम्लाबाट'

कर्णाली नदीको निलो शिरा, सिंजाको पौराणिक स्वर, चन्दननाथको धार्मिक आस्था र खलंगाको हलचलबीच जुम्ला भित्रभित्रै बदलिँदै छ। परम्परागत संस्कृतिका तहहरू बचाउँदै-बचाउँदै यहाँका मानिसहरूले विगत केही वर्षमा अद्भुत सिर्जनात्मक उदय देखाएका छन्। त्यो विकास योजनाको अनुहार होइन, त्यो स्थानीय मनको आकांक्षा, कल्पनाको पखेटा र पहिचानप्रतिको गर्वको अदम्य रूप हो।

कर्णाली राजमार्गमा मोटरसाइकल रोकेर जुम्लातिर हेर्ने मात्रले आजभोलि एक प्रकारको ऊर्जा महसुस गर्छ- कला, स्वाभिमान र सम्भावनाको । जुम्लाको तिला गाउँपालिका–३, कुडारी लम्सेरामा दीपराज भट्टराईको घर छ, तर त्यो घर कर्णाली राजमार्ग पार गर्ने यात्रुका लागि एउटा आश्चर्य बनेको छ। घरको छतमा पूर्ण आकारको उड्नै लागे झैँ देखिने हेलिकोप्टर उभिएको छ। सिमेन्ट, बालुवा, गिट्टी र महिनौँको मेहनतले बनेको यो हेलिकोप्टरलाई दीपराजले १ लाख ५० हजार रुपैयाँ लगाएका छन्। कसैले ‘मनोरञ्जनका लागि बनाएको मूर्ति’ भन्छन‍् तर दीपराजका लागि यो त्यसभन्दा धेरै ठूलो छ।

'यो जुम्लालाई चिनाउने सपना हो,' उनले मुस्कुराउँदै भनेका थिए, 'मैले बनाएको हेलिकोप्टरमा बस्दा मानिसहरूले जुम्लालाई नयाँ आँखाले हेर्छन्। यही मेरो चाहना हो, कर्णालीलाई हवाई कल्पनासँग जोडिने।' छानामा हेलिकोप्टर देख्ने यात्रुहरू फोटो खिच्न रोक्छन्, टिकटक बनाउँछन् र दीपराजसँगै केही छिन संवाद गर्छन्। जसरी एक स्थानीय व्यक्तिको कल्पनाले पर्यटनको ठाडो सम्भावना उजिलिएको छ।

यस्तै तातोपानी गाउँपालिका–५ का ४२ वर्षीय टक्कबहादुरको घरमा चढेपछि लाग्छ मानौं कुनै नयाँ ‘जुम्ली विमानस्थल’, जसको छतमा अवतरण भएको छ नेपाल एयरलाइन्सको प्रतिकृतिजस्तो विमान। स्थानीय रूपमा पाइने सिमेन्ट, बालुवा, गिट्टी, सरियाबाट बनाइएको यो कला निर्माणमा उनले लगभग १ लाख रुपैयाँ खर्चेका छन्। तर खर्चभन्दा ठूलो कुरा हो उनीभित्र बाँकी रहेको ‘अधुरो पढाइको पीडा’ र ‘सिकाइप्रतिको अटुट लगाव’। टक्कबहादुर भन्छन्, 'पढ्न त पाइनँ, तर हातले बनाउने सीप कहिल्यै रोकिएन। बाल्यकालमा काठ–माटाका हेलिकप्टर बनाएको हातले आज विमान छानामा राखेँ।' उनी केवल कलाकार होइनन्। 

जुम्लाको सदरमुकाम खलंगामा आजभोलि एउटा नयाँ शान्तिको स्थान छ। ललितपुर महानगरको सहयोगमा बनेको कलात्मक गणेश मन्दिर। २० लाखको सहयोग, स्थानीय ढुंगाको प्रयोग र जुम्ली शिल्पकला, यी तीन तत्व मिलेर बनेको यो मन्दिर केवल धार्मिक गन्तव्य होइन, जुम्लाको सांस्कृतिक पुनर्जागरणको प्रतीक हो। ढुङ्गामै सुतिरहेको गणेशको मूर्ति, कर्णालीको आकाशले छोएको गुम्बज र वरिपरि हिँडिरहने तीर्थयात्री, जुम्ला पहिले यसरी देखिन्थेन। यो मन्दिरले शहरलाई आध्यात्मिक न्यानो दिएको छ।

सिंजा क्षेत्र- खस भाषाको जन्मस्थल, नेपाली पहिचानको मेरुदण्ड। त्यही भूमिमा आज उभिएको छ। गरिमामय नेपाल नक्सा १ सय ५० मिटर लम्बाइ, ३० मिटर चौडाइ र करिब एक करोड लागतको अनमोल कलात्मक प्रयास। मुगुको रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक अब यात्राको बीचमा रोकिन्छन्। किनकि राइकेडाँडामा उभिएको नक्साले राष्ट्रलाई भौगोलिक आकार र भावनात्मक अर्थ दुवै दिन्छ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका शब्दहरूमा 'नक्सामै त राष्ट्रियता देखिन्छ। जुम्लाले त्यो भावनालाई अझै उचो बनाएको छ।' बाटो घुम्दै आचार्यबाडा पुग्दा क्षितिजतिर एउटा ठूलो रातो–निलो धड्कन देखिन्छ। नेपालको विशाल राष्ट्रिय झण्डा। ४ सय ६५ सिँढी उक्लँदै ५ सय ६७ फिट रेलिङ समाउँदै जब टुप्पो पुगिन्छ, जुम्लाको फाँट, कर्णालीको खोँच, हिमालको आकार सबै एकैपटक आँखामा आउँछन्। ७० लाख बजेटमा बनेको यो गन्तव्य अहिले जुम्लाको सबैभन्दा धेरै रोकिने ठाउँ बनको छ। सार्वजनिक बिदामा यहाँको भिडले राष्ट्रिय झण्डालाई साँच्चिकै ‘बोल्न’ सिकाएको छ। देशप्रेमले फहरिएको झण्डा। जुम्ला स्याउको राजधानी हो। यो केवल वाक्य होइन, इतिहास, कृषकको पसिना र कर्णालीको चिसो हावाले दिएको उपहार हो। त्यही पहिचानलाई मूर्त रूप दिन खलंगामा बनेको छ एप्पल चोक, ५ लाख रुपैयाँ लागतको यो संरचनाले सहरले आफूलाई स्याउको राजधानीका रूपमा पुनः पुष्टि गरेको छ। 

उपप्रमुख रामदेवी खड्का भन्छिन्, 'जुम्लाको गर्व स्याउ हो। अब यो चोकले त्यो गर्वलाई संसारभर पुर्याउनेछ।' यी सबै संरचनाहरू हेलिकप्टर, विमान, नक्सा, मन्दिर, झण्डा, एप्पल चोक यो कुनै सरकारी योजना मात्र होइन सामान्य नागरिकको असामान्य कल्पनाको कथा हो। यस्तो लाग्छ, जुम्ला अहिले आफ्नै हातले आफैँलाई फेरि बनाउँदै छ। 

कर्णालीको भित्री बस्तीमा लोला हालेर बसेका कलाकारहरू, अपठित तर प्रतिभाशाली आविष्कारकहरू, परम्परा बोक्ने शिल्पीहरू सबै एकै सूत्रमा बाँधिदैछन्। जुम्ला अब केवल भौगोलिक एकाइ नभइ यो सिर्जनाको प्रयोगशाला हो। कर्णालीको भविष्यको कार्यशाला हो। पर्यटनको नयाँ व्याख्या, पहिचानको नयाँ व्याख्या हो। हेलिकप्टर छानामा उड्दैछ, विमान छानामा अवतरण गर्दैछ, झण्डा पहाडमा फहरिँदैछ, नक्साले राष्ट्र उकेरिरहेको छ। र, यी सबैमा एउटा साझा आवाज छ। 'जुम्ला उठ्दैछ'। 

प्रकाशित: १४ मंसिर २०८२ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App