१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

पहिरो हटाएसँगै सात घण्टापछि खुल्यो कर्णाली राजमार्ग

कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गा, चट्टान र माटोसहितको पहिरो खस्दा बुधबार बिहानदेखि अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत सेरावाडा खण्ड सात घण्टापछि पुनः सञ्चालनमा आएको छ।

बिहान ७ः४५ बजे खसेको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा बन्द हुँदा जुम्ला, मुगु, कालीकोट र सुर्खेत आवतजावत गर्ने सयौँ यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए।

सडक डिभिजन कार्यालय जुम्लाले डोजर परिचालन गरी पहिरो हटाएपछि दिउँसो २ः१५ बजेदेखि दुवैतर्फको यातायात सञ्चालनमा आएको जनाएको छ।

वर्षायामसँगै कर्णाली राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम बढ्दै गएको छ। केही घण्टाको वर्षाले पनि ढुङ्गा र चट्टानसहित पहिरो झर्ने क्रम दोहोरिन थालेपछि यो राजमार्गमा यात्रा गर्ने यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ।

सडक डिभिजन कार्यालयले वर्षायाममा राजमार्गको अवस्था क्षणक्षणमै बदलिन सक्ने भएकाले यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन, अनावश्यक यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन सबै यात्रु तथा चालकलाई आग्रह गरेको छ।

प्रकाशित: १३ श्रावण २०८३ १७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App