कर्णालीमा इतिहास हराउँदै गएको होइन, सुन्ने कान र देख्ने मञ्च नपाएर मौन बनेको हो। त्यही मौनतालाई भत्काउने उद्देश्यसहित जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ गोठीजिउलामा ‘कर्णाली कलाघर’ निर्माण सुरु भएको छ।
कर्णाली संस्कृति संरक्षण मञ्च (कसंम)को नेतृत्वमा सुरु भएको यो अभियानलाई कलाकारहरूले आफ्नै सभ्यता जोगाउने सांस्कृतिक प्रतिरोधका रूपमा लिएका छन्। प्राचीन सिंजा उपत्यका कुनै समय खस राज्यको राजधानी थियो।
यही भूमिमा भाषा जन्मियो, लोककथा बुनिए, गीत, नाटक फस्टाए। तर, समयसँगै राज्य हरायो, बाटो बदलियो, र कर्णालीको संस्कृति केन्द्रबाट परिधितिर धकेलिँदै गयो। त्यही इतिहासलाई पुनः वर्तमान अवस्थामा ल्याउन करिब ७० लाख रुपैयाँ लागत अनुमानसहित तीन वर्षे योजनामा कलाघर निर्माण अघि बढाइएको हो।
स्थानीय अग्नीराज उपाध्यायलगायत व्यक्तिहरूले ६ सय वर्गमिटर जग्गा उपलब्ध गराएपछि सपना कागजबाट जमिनमा झरेको छ। यही ठाउँमा ३ सयभन्दा बढी दर्शक अट्ने रंगमञ्च, अभ्यास कक्ष, अभिलेख कक्ष र सांस्कृतिक संवादका संरचना बन्ने छन्। कलाघरको उद्घाटन प्रदेश ‘ख’ का पूर्वमन्त्री तथा सांसद टेकराज पछाईबाट गरिने तयारी छ।
पहिलो चरणमा कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास कार्यालय जुम्लाले १५ लाख रुपैयाँ सहयोग गरेको छ। कनकासुन्दरी गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको छ। 'हालसम्म १८ लाख रुपैयाँ खर्चेर निर्माण अघि बढाइएको छ,' कसंमका संस्थापक तथा सचिव दीपेन्द्र उपाध्यायले भने, 'आगामी वर्षका लागि २२ लाख रुपैयाँ आवश्यक छ। यो कुनै संस्थाको भवन होइन, कर्णालीको साझा सांस्कृतिक घर भएकाले सबैलाई साथ दिन आग्रह गरेका छौं।'
कसंम विगत ६ वर्षदेखि भाडाको घरमा कलाघर चलाउँदै आएको छ। गोठीजिउलाको चुडिल्लेमा रहेको भीमबहादुर बुढाको सानो घरमै कलाकार अभ्यास गर्थे, दर्शक बस्दथे र कथा सुनिन्थ्यो। सीमित स्रोत, कमजोर संरचना र आर्थिक अभावबीच पनि उनीहरूले सडक नाटक, स्टेज नाटक र कचहरी नाटकमार्फत सामाजिक मुद्दा उठाइरहेका थिए।
कलाघरमा हाल १८ जना कलाकार सक्रिय छन्। उनीहरूले कर्णालीका ३६ स्थानमा पुगेर मतदाता शिक्षासम्बन्धी नाटक देखाइसकेका छन्। कसंमले २०६७ सालमा काठमाडौंमा ‘सुइना कर्णालीका’ नाटक मञ्चन गर्दै पहिलोपटक राजधानीमा कर्णालीको कथा सुनाएको थियो। २०७६ सालमा सुर्खेतमा ‘फड्को’ र २०७८ सालमा ‘कुटिरो’ नाटकमार्फत श्रम, पलायन र अस्तित्वका प्रश्न उठाइयो।कर्णालीका कलाकारको निरन्तर अभ्यास र प्रतिबद्धताले राष्ट्रिय स्तरका रंगकर्मीलाई पनि तानेको छ।
चर्चित रंगकर्मी सुनिल पोखरेल भाडाको कलाघरमै आएर तालिम दिइसकेका छन्। नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेल नेतृत्वको टोलीले कर्णालीको कला–संस्कृतिको स्थलगत अवलोकन गरी यहाँको सम्भावनाबारे प्रतिवेदनसमेत तयार पारेको छ।स्थायी कलाघर निर्माण सुरु भएपछि कलाकारहरूमा आत्मविश्वास बढेको छ। 'अब हामी केवल कार्यक्रमका लागि बोलाइने कलाकार होइनौं,' एक स्थानीय रंगकर्मीले भने, 'हामी आफ्नै इतिहासका कथाकार हौं।'
उनीहरूका लागि यो भवन छानो मात्रै होइन, पहिचान हो। स्थानीय बासिन्दा र संस्कृतिकर्मीहरूका अनुसार कर्णाली कलाघर भविष्यमा नाटक मञ्चनको थलो मात्र रहने छैन। यहाँ मौलिक कर्णाली भाषा, लोकनृत्य, वाचिक इतिहास र आधुनिक रंगमञ्चबीच संवाद हुनेछ। बजेट व्यवस्थापनका लागि इच्छुक व्यक्ति र संस्थालाई अपिल गरिएको पनि उनले बताए। सिंजाबाट सुरु भएको सभ्यताको कथा फेरि सिंजामै मञ्चन हुनेछ। जहाँ कर्णाली आफैँ बोल्नेछ।
प्रकाशित: २० पुस २०८२ ११:३९ आइतबार





