सेरी पान्तडी सडक खण्डअर्न्तगत कालीकाेटकाे शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी भएको जीप दुर्घटनाका मृतकको सनाखत भएको छ।
शुक्रबार बेलुका ६ बजे सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा घटनास्थलमा मृत्यु भएका तीनै जनाएको सनाखत भएको कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए।
उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही जेसिवि चालक र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन्।
उनीहरू तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए। सडकबाट ५ सय मिटर तल तिला नदीको किनारामा गाडी टुक्राटुक्रा भेटिएकाे छ। जिप चालक कुशल रहेको प्रहरीले बताए।
दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रजिअ गोर्कणराज सुयल, डीएसपी खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। शव जिल्ला अस्पताल कालीकाेटमा राखिएको छ।
प्रकाशित: ३ माघ २०८२ ०७:४८ शनिबार





