२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

भद्रपुरको सन्देश: देवीको आशिर्वाद क्रिकेट टोलीलाई

झापाको भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ।

जेन-जी आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए।

भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन्।

समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो।

‘हामीले छोटो समयमा विभिन्न सहयोगी दाताको साथ र सहयोगमा राष्ट्रियता झल्काउने पण्डाल निर्माण गर्न सफल भएका हौँ,’ उनले भने, ‘पण्डाल सबैले रुचाएका छन्, यस कार्यको प्रशंसा पनि गरेका छन्।’

पण्डाल, बिजुली बत्ती र साङ्गीतिक कार्यक्रमलगायत करिब सात लाख खर्च हुने अनुमान गरिएको समितिले जनाएको छ।

कात्तिक ७ गते पूजास्थलमा स्थानीय तथा भारतीय कलाकारहरूको सहभागितामा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना गरिने समितिका सदस्य निर्मल घोषले जानकारी दिए।

बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बाङ्गला भद्रपुरले अघिल्लो वर्ष केदारनाथ मन्दिरको आकृतिमा पण्डाल बनाएको थियो।

उक्त क्लबले विगत नौ वर्षदेखि विभिन्न आकृतिमा पण्डाल निर्माण गर्दै कालीपूजा गर्दै आएको समितिका सदस्य घोषले बताए। रासस

प्रकाशित: ४ कार्तिक २०८२ १७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App