२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

कैलाश मानसरोवर यात्रामा उत्साह : हुम्ला भएर तीन हजारभन्दा बढी भारतीय तीर्थयात्री

कैलाश मानसरोवर दर्शनको याम सुरु भएसँगै हुम्ला हुँदै यात्रा गर्ने भारतीय तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। हवाई मार्गमार्फत नेपाल प्रवेश गरेर सिमकोट–हिल्सा नाका हुँदै चीनको ताक्लाकोटतर्फ जाने यात्रु बढेपछि यस क्षेत्रको पर्यटन गतिविधि पनि तीव्र बनेको छ।

यस वर्ष हालसम्म तीन हजार ७८० भारतीय पर्यटकले नेपालगञ्ज–सिमकोट–हिल्सा मार्ग प्रयोग गर्दै कैलाश मानसरोवर दर्शनका लागि यात्रा गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाख ३० गतेदेखि तीर्थयात्री आउने क्रम सुरु भएको हो।

आगन्तुकमध्ये एक हजार ८९२ महिला र एक हजार ८८८ पुरुष रहेका छन्। पर्यटकीय याम सुरु भएयता दैनिक ८० देखि २०० जनासम्म भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला पुगिरहेका छन्।

पर्यटकको बढ्दो चहलपहलले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव देखिएको छ। सिमकोट तथा हिल्सा आसपासका होटल, रिसोर्ट र आवास सेवा भरिभराउ हुन थालेका छन्। होटल व्यवसायीले आम्दानी बढेको बताएका छन् भने विमानस्थलदेखि होटलसम्म सामान ओसार्ने काममा ३० भन्दा बढी भरियाले रोजगारी पाएका छन्। स्थानीय कृषिउपजले पनि राम्रो बजार पाउन थालेको छ।

यात्रु चाप बढेसँगै हवाई सेवा पनि विस्तार गरिएको छ। हाल निजी वायुसेवा कम्पनीहरूले दैनिक छ उडानमार्फत नेपालगञ्ज–सिमकोट सेवा सञ्चालन गरिरहेका छन्। त्यस्तै, विभिन्न कम्पनीका छ वटा हेलिकप्टरले सिमकोटबाट हिल्सासम्म नियमित उडान गर्दै आएका छन्। हेलिकप्टर सेवा बिहान ६:३० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने गरेको छ।

पर्यटकको गतिविधि सिमकोटमा मात्र सीमित छैन, नेपाल–चीन सीमा क्षेत्र हिल्सामा समेत व्यापारिक तथा आवासीय गतिविधि बढेको छ। स्थानीय होटल व्यवसायी, यातायात तथा श्रमिक क्षेत्रले यसको प्रत्यक्ष लाभ लिइरहेका छन्।

प्रशासनका अनुसार तीर्थयात्रीको सङ्ख्या बढ्दै जाँदा सिमकोट विमानस्थलमा बिहानदेखि बेलुकासम्म निकै चहलपहल हुने गरेको छ। कतिपय समयमा यात्रु र उडानको चापका कारण विमानस्थल क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ २१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App