२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

विश्वविद्यालय अनुदान आयोग (यूजीसी) का नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री सस्मित पोखरेलले उनीहरूलाई शपथ गराएका हुन्। कार्यक्रममा मन्त्री पोखरेलको उपस्थितिमा नवनियुक्त अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

शपथग्रहणपछि बोल्दै मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।

विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनले बताए। नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, सचिव श्रेष्ठले आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षा सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताइन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. केसी र सचिवमा प्रा. डा. श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालको राजीनामापछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए।

अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिका विज्ञ मानिने केसी तीन दशकभन्दा बढी समयदेखि प्राध्यापन तथा शैक्षिक नेतृत्वमा सक्रिय छन्।

आयोगकी नवनियुक्त सचिव प्रा. डा. श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो व्यक्ति हुन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट पीएचडी हासिल गरेकी उनी ‘नेपाल विद्या भूषण’ पदक तथा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानबाट सम्मानित भइसकेकी छन्।

प्रकाशित: २१ श्रावण २०८३ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App