जुम्लादेखि पूजा गर्न बाजुरास्थित बडिमालिका पुगेर सरकारी टोली १८ दिनपछि फर्किएको छ। शुक्रबार फर्किएको सरकारी टोलीलाई सदरमुकाम खलंगामा भव्य स्वागत गरिएको छ ।
बडिमालिकाबाट मुगु हुँदै कनकासुन्दरी मन्दिरको पूजा गरेर टोली सदरमुकाम खलंगा फर्किएको हो । टोलीलाई सेनाको टुकुडीले सलामी दिएको थियो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा पाँच जनाको सरकारी टोली र अन्य स्थानीय बडिमालिका पुजारी विष्णुप्रसाद उपाध्याय ९रेग्मी० सहितको टोलीलाई जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, डिएसपी रबिन बाबु रेग्मीले र सरकारी उच्च अधिकारीले नेपाली सेनाको टुँडिखेल मैदानमा भव्य स्वागत गरेका हुन्।
१८ दिन पहिले सरकारी टोली बडिमालिकाका लागि प्रस्थान गरेको थियो । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाको सरकारी टोली बडिमालिका पुगेर फर्किएको सरकारी टोली प्रमुख विष्णुबहादुर महतले बताए ।सेनाले सलामी चढाएपछि सरकारी टोलीले ल्याएको डोलीलाई बाजागाजासहित खलंगा बजार परिक्रममा गरेर चन्दननाथ भैरवनाथ मन्दिर हुँदै दरबार मालिका मन्दिरमा पुर्याइएको थियो ।
डोली दरबार मालिकामा विधिवत् रूपमा बुझाइएको पुजारी बिष्णुप्रसाद उपाध्याय९रेग्मी०ले बताए। टोलीको स्वागतका लागि दुर्गम गाउँका भक्तजन पनि सदरमुकाम खलंगामा आइपुगेका थिए। उनीहरूले फुलमालासहित अबिर लगाइदिएका थिए ।
पुजारी उपाध्यायले जुम्लाबासीले दिइएको ध्वजा र अक्षता नासो पुर्याएर सबैको मनोकामना पूरा होस भन्ने कामना गरेर फर्किएको बताए। नाग पञ्चिमीका दिनमा बडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोली त्यस तर्फ प्रस्थान गर्ने चन्दननाथ नगरपालिका (५ का स्थानीय चित्रलाल श्रेष्ठले बताए। परम्परा देखि अञ्चलाधिस कार्यालयको माताहातमा चालिआएको पूजाआजा अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा चलिरहेको छ ।
बडिमालिका माईको पूजा आजा गरेमा मनको इच्छा पुरा हुने धार्मिक विश्वास छ । तत्कालीन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन रहे पनि हाल जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि पठाउने गरेको छ । टोली कृष्ण जन्माष्टमीको अघिल्लो दिनमा फर्किने गरेको छ । टोली फर्किएको भोलिपल्ट लाखे काट्ने चलन छ । हरेक वर्ष भगवतीको लागि सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर लिने चलन छ।
प्रकाशित: ३० श्रावण २०८२ १७:३४ शुक्रबार





