जुम्लाको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय फिल्ड ईकाइ कार्यालयको रुपमा रहने भएको छ।
खानेपानी मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी टेकनाथ दाहालका अनुसार जुम्लासहित देशका ६ जिल्लामा साविक संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अव फिल्ड ईकाइ कार्यालयको रुपमा रहने छन्।
उनका अनुसार फिल्ड कार्यालयमा केही कर्मचारी खटाउने र काम सहज गर्न अगाडि बढाईएको छ ।
नेपाल सरकार खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ मा देशका १५ वटा कार्यालय स्थायी गर्ने र जुम्लासहितका कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । २०८२ साउनदेखि जुम्ला कार्यालय खारेज गर्ने निर्णय गरेपछि जुम्लाका स्थानीय राजनीतिक दल, जनप्रतिनिधिले यसको विरोध जनाउदै मन्त्रालयमा ध्यानाकर्षण तथा कार्यालयमा तालाबन्दी गरेका थिए ।
यस्तै जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाही, कान्तिका सेजुवाल, छिरिङ ल्हामु लामा तामाङ, विनिता कठायतले सदनमै यसको ध्यानाकर्षण गराएका थिए ।
मन्त्रालयले जुम्ला कार्यालय खारेज गर्ने निर्णय गरेपछि जुम्ला कार्यालय गत असार २९ गतेदेखि तालाबन्दी गरिएको छ । कार्यालय एक जना कार्यालय सहयोगीको भरमा छ । अन्य कर्मचारीलाई मन्त्रालयले अन्य स्थानमा तानिसकेको छ ।
खानेपानी आयोजना खारेज गरेपछि फिल्ड कार्यालय मात्रै रहने र लेखा प्रणाली सुर्खेत कार्यालयले हेर्ने भएको हो । फिल्ड कार्यालय पनि सुर्खेत कार्यालयको माताहत रहनेछ।
प्रकाशित: १२ भाद्र २०८२ १८:०४ बिहीबार





