सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गरेका छन्।
न्यायाधीश श्रेष्ठले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोग सङ्कलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक सङ्कलनको काम तत्काल स्थगित गर्न आग्रह गरिएको छ।
‘न्याय सेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रुपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएँ’, विज्ञप्तिमा भनिएको छ, ‘यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ, आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नुहुनेछ।’
बोनम्यारो समस्याबाट पीडित न्यायाधीश श्रेष्ठको भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: १३ जेष्ठ २०८३ १३:४५ बुधबार





