१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

धार्मिक सहिष्णुता कायम राख्न झापाको आह्वान

सुनसरी घटनापछि धार्मिक सहिष्णुतामा कुनै आँच आउन नदिन यहाँको जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र धार्मिक समुदाय एकै ठाउँमा उभिएका छन्।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न बैठकमा जिल्लाका विभिन्न धार्मिक सङ्घसंस्था, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सामाजिक अगुवाहरूको सहभागिता थियो।

बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सुनसरीमा भएको घटना दुखद भएको उल्लेख गर्दै झापामा यस्ता घटना दोहोरिन नदिन समयमै आवश्यक पूर्वसावधानी अपनाउन सद्भाव बैठक आयोजना गरिएको बताए। उनले जिल्लाका सबै पालिकासँग समन्वय गर्दै धार्मिक सङ्घसंस्थाबीच निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने जानकारी दिए।

'धार्मिक विविधता हाम्रो साझा सम्पत्ति हो। कुनै पनि परिस्थितिमा सद्भाव, सहिष्णुता र आपसी विश्वासलाई कमजोर हुन दिनु हुँदैन', प्रमुख जिल्ला अधिकारी गेलालले भने।

अन्तरधार्मिक सञ्जाल झापाका अध्यक्ष राजकुमार राईले समाजमा एकता, सद्भाव र सहिष्णुता कायम राख्न संस्था सधैँ सक्रिय रहेको बताए। उनले शान्तिपूर्ण सहअस्तित्व र सामाजिक एकताका पक्षमा निरन्तर वकालत गर्दै आएको उल्लेख गरे। मुस्लिम समाज विकास समिति झापाका अध्यक्ष मोहमद राफीले सबै समुदायबीच आपसी सम्मान, संवाद र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

पूर्वसांसद तथा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले जिल्लाका १५ वटै स्थानीय तहमा धार्मिक सङ्घसंस्थालाई सहभागी गराई सद्भाव बैठक सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले संवेदनशील समयमा प्रशासनले लिएको पहललाई सकारात्मक कदमका रूपमा लिँदै समयमै सतर्कता अपनाउन आवश्यक रहेको बताए।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले नेपालको संविधानले धर्मनिरपेक्ष राष्ट्रको व्यवस्था गरेको स्मरण गराउँदै सबैले एकअर्काको धर्म र आस्थाको सम्मान गर्नुपर्ने धारणा राखिन्। उनले एउटा स्थानमा भएको धार्मिक विवादको प्रभाव अन्यत्र फैलिन नदिन सबैपक्ष सचेत हुनुपर्ने बताइन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले झापामा विगतमा धार्मिक द्वन्द्वको इतिहास नरहेको स्पष्ट पारिन्। उनले गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उदाहरण दिँदै आगामी दिनमा पनि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल तथा समुदायबीचको समन्वय र सहयोगलाई निरन्तर कायम राख्नुपर्नेमा जोड दिइन्।

बैठकमा सहभागीले धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै कुनै पनि अफवाह वा उक्साहटबाट प्रभावित नहुन सबै समुदायलाई सचेत रहन आग्रह गरेका थिए।

प्रकाशित: १२ श्रावण २०८३ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App