वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि उत्पन्न विवादका कारण देशभर स्वास्थ्य सेवा प्रभावित बनेको अवस्थाप्रति पर्साका प्रमुख राजनीतिक दलहरूले गम्भीर चासो व्यक्त गरेका छन्।
समस्याको समाधान खोज्न मंगलबार वीरगञ्ज महानगरपालिका २४ स्थित नेपाली कांग्रेस पर्साको कार्यालयमा बसेको सर्वदलीय बैठकले ६ बुँदे सर्वदलीय अपिल जारी गर्दै स्वास्थ्य सेवा तत्काल नियमित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका जिल्ला नेतृत्वको सहभागिता रहेको थियो।
सर्वदलीय अपिलमा उपचारका क्रममा ज्यान गुमाएका वीरगञ्ज–२५ निवासी राजकुमार पटेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। त्यस्तै, आकस्मिक उपचार कक्षमा कार्यरत चिकित्सक डा प्रमोद राम र स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारको कडा निन्दा गर्दै दोषीमाथि कानुनी कारबाही गर्न र घाइते स्वास्थ्यकर्मीको उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरिएको छ।
बैठकले साउन ९ गते नारायणी अस्पतालमा भएको घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेको छ।
यस्तै, आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, अस्पताल प्रशासन र स्थानीय प्रशासनबीच तत्काल संवाद र सहमतिमार्फत समस्या समाधान गरी बन्द रहेका स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न आग्रह गरिएको छ।
सर्वदलीय अपिलमा प्रशासनिक पदाधिकारीहरूले संवादका क्रममा लोकतान्त्रिक मर्यादा र पदीय गरिमाअनुकूल व्यवहार गर्नुपर्नेमा समेत जोड दिइएको छ।
लोकतान्त्रिक पद्धति, आपसी सम्मान र सहमतिका आधारमा नारायणी अस्पतालको विवाद समाधान गर्दै आम नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष सर्वदलीय बैठकले निकालेको छ।
उक्त अपिलमा नेपाली कांग्रेस पर्साका जनार्दन सिंह क्षेत्री, रास्वपा पर्साका तुलसा पौडेल अधिकारी, नेकपा (एमाले) पर्साका डा विश्वम्भर शर्मा, नेकपा पर्साका जयप्रकाश थारु, राप्रपा पर्साका प्रेमेन्द्रनाथ उपाध्याय, जसपा नेपाल पर्साका रामनरेश यादव तथा जनमत पार्टी पर्साका मनोज साहले हस्ताक्षर गरेका छन्।
प्रकाशित: १२ श्रावण २०८३ १८:०८ मंगलबार





