हुम्लाको सदरमुकाम सिमकोटमा ब्रेक फेल भएर एक जिप दुर्घटनामा परेको छ।
सिमकोट गाउँपालिका–५ काठेचुलीमा लु.प्र. ०१–००१ ज ०२८२ नम्बरको जिप स्थानीय पदमबहादुर रावतको घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, सिमकोट बजारबाट तल्लो गाउँतर्फ जाँदै गरेको उक्त जिपको अचानक ब्रेक फेल भएपछि अनियन्त्रित भई सडक छेउको घरमा पसेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु श्रेष्ठले जिप रावतको घरको माथिल्लो तलामा ठोक्किएको जानकारी दिए।
दुर्घटनामा जिप चालक खार्पुनाथ गाउँपालिका–१ का तीलक ऐडी सामान्य घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जिपमा चालक ऐडी मात्र थिए।
जिप ठोक्किँदा घरको माथिल्लो तलाको एउटा कोठा पूर्ण रूपमा क्षति भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ भाद्र २०८२ १६:०६ बुधबार





