२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

रौतहटमा जिप चालकलाई बाटोमै रोकेर अपहरण शैलीमा कुटपिट, एक पक्राउ

रौतहटमा एक जिप चालकलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार राति ९ बजेको समयमा सदरमुकाम गौरबाट दुर्गा भगवती गाउँपालिकातर्फ जाँदै गरेको बीआर ०६ पीई २१२१ नम्बरको जिपलाई राजदेवी नगरपालिका वडा नम्बर २ हजमिनिया गाउँमा जबरजस्ती रोक्न लगाएर चालकलाई अपहरण शैलीमा घरमै लगेर निर्घात कुटपिट गरेका छन्।

दुर्गाभगवती गाउँपालिका ३ निवासी जिप चालक अरविन्द पण्डित आफ्ना घरतर्फ जाँदै गरेको अवस्थामा गौर नगरपालिका वडा नम्बर ९ का साहेब सिंह भन्ने राजवंश सिंह र उनका छोरा आयुष सिंहले गाडी रोक्न लगाएर चालकमाथि निर्घात कुटपिट गरेका हुन्।

सिहद्वय बाबू छोरा मिलेर गाडी नरोके पेट्रोल छर्केर आगो लगाइदिने धम्की दिँदै चालक पण्डितले जिप रोकेको पीडितको आरोप छ।

बाबुछोराले चालक पण्डितलाई जबरजस्ती नियन्त्रणमा लिएर गौर नगरपालिका–९ सिर्सियास्थित आफ्नै घरमा लगेर अम्बाको लौरोले मरणासन्न हुने गरी कुटपिट गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका चालक पण्डितलाई प्रहरीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा उपचारका लागि भर्ना गरेको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार बिहान राजवंश सिंहलाई नियन्त्रणमा लिएको थियो। उनका छोरा आयुष सिंह भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत सिर्सिया चौकमा जिप चालक पण्डितले कुकुरलाई किचेर मरेको विषयलाई लिएर उनीमाथि आक्रमण गरेको बुझिएको  छ।

पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको छ भने फरार आरोपितको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८३ १७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App