२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

रुकुम पश्चिममा जीप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, चार गम्भीर

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परि १२ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज खड्काले जानकारी दिए। उनका अनुसार जीपमा १४ जना यात्रु सवार रहेका थिए।

आइतबार बिहान सानीभेरी गाउँपालिका ५ बाट वडा नम्बर ६ हुँदै वडा नम्बर ९ को सिम बजारतर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको हो। अधिकृत खड्काका अनुसार जीप सडकबाट करिब ५०० मिटर तल खसेको अनुमान छ। 

दुर्घटनामा जीपका चालक सुन्दर खड्कासहित एक महिलाको घटनास्थलमै मृत्यु भएको नागरिकन्युजलाई उनले बताए। मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ। 

दुर्घटनामा घाइते भएका १२ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल लैजाने तयारी गरिएको छ। चार जना बिरामीलाई हेलिकप्टरबाट रिफर गर्न तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ। 

गम्भीर घाइतेमध्ये केही बोल्न सक्ने अवस्थामा नरहेको र टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। एक जना घाइतेको भने भित्री चोट रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। अन्य घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्ने तयारी गरिएको छ। 

दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। अधिकृत खड्काले दुर्घटनास्थलतर्फको सडक अत्यन्तै खराब रहेको बताए।

प्रकाशित: २८ भाद्र २०८३ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App