२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

बर्ड फ्लू संक्रमण पुष्टिभएपछि जावलाखेल चिडियाखाना बन्द

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्ड फ्लू संक्रमण देखिएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखानाभित्र रहेका जीवजन्तुमा संक्रमण पुष्टि भएपछि व्यवस्थापनले शुक्रबारदेखि सर्वसाधारणको प्रवेश पूर्ण रूपमा रोक लगाएको हो।

चिडियाखानाको व्यवस्थापन गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म चिडियाखाना बन्द रहने जनाएको छ। कोषका अनुसार चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्ड फ्लू संक्रमण देखिएकाले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

व्यवस्थापनले संक्रमण कुन–कुन प्रजातिका जीवजन्तुमा देखिएको हो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन। तर संक्रमण मानव स्वास्थ्यमा समेत असर पार्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन तत्काल चिडियाखाना बन्द गर्नुपरेको जनाएको छ।

अचानक चिडियाखाना बन्द गरिएपछि घुम्न पुगेका सर्वसाधारण, विशेषगरी बालबालिका निराश बनेका छन्। दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने चिडियाखाना अचानक बन्द हुँदा अवलोकनका लागि आएका धेरैजना फर्किन बाध्य भएका थिए।

प्रशासनले अहिले संक्रमित जीवजन्तुको अवस्था निगरानीमा राखिएको र आवश्यक स्वास्थ्य तथा सुरक्षासम्बन्धी प्रक्रिया अघि बढाइएको जनाएको छ। अवस्था सामान्य भएपछि र जोखिम पूर्ण रूपमा हटेपछि मात्रै नयाँ सूचना जारी गरेर चिडियाखाना पुनः सञ्चालनमा ल्याइने बताइएको छ।

बर्ड फ्लू संक्रमण देखिएसँगै चिडियाखानामा रहेका अन्य जीवजन्तुको सुरक्षासँगै मानव स्वास्थ्य जोखिम व्यवस्थापन अहिले प्रमुख प्राथमिकतामा परेको छ।

प्रकाशित: ५ असार २०८३ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App