वैदेशिक रोजगारीका जानेको सङ्ख्या निरन्तर वृद्धि भएसँगै ठगीका घटना समेत बढदै गएकाले यसलाई सुरक्षित बनाउन गाउँ गाउँमा सचेतना कार्यक्रम लैजानु पर्ने औँल्याइएको छ।
स्वदेशमा रोजगारीको अभाव तथा आकर्षक काम र तलबको लोभमा परेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । यससँगै ठगीका घटना समेत निकै बढेको छ। स्वदेशमा नै रोजगारी गरौँ वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जानु पर्ने कुरा जनस्तरमा बुझाउनु पर्ने समेत सुझाव दिइएको छ।
कपिलवस्तु नगरपालिकाको सहयोगमा सामी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको आयोजना कपिलवस्तुको गोरुसिङ्गेमा सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम सुरक्षित वैदेशिक रोजगारीका लागि जिल्ला तहका प्रहरीसँग अन्तरक्रिया कार्यक्रममा सो औँल्याइएको हो।
सो अवसरमा प्रहरी उपरिक्षक मनोहर भट्टले वैदेशिक रोजगारीको नाममा दिनप्रति दिन ठगीका घटना बढ्दै गएकोले यसको न्युनीकरणका लागि नागरिक स्तरमा सचेतना कार्यक्रम गर्नु पर्ने बताए।
उनले म्यानपावर, तथा अनलाइनमा अनेक फण्डा र प्रलोभन देखाएर वैदेशिक रोजगारीमा ठगी गर्ने गरिएको बता । त्यस्ता ठगीलाई निस्तेजे पार्न नागरिकहरूलाई सुसूचित गर्न जरुरी रहेको बताए।
वैदेशिक रोजगारीमा सुरक्षित, भरपर्दो र मर्यादित बनाउन नागरिक समाज र नागरिक चनाखो हुुनुपर्ने प्रजिअ जर्नादन गौतमले बताए। ‘ वैदेशिक रोजगारीमा जाने बढेका छन्, ठगीको घटना पनि बढेको छ ’ उनले भने, ‘यसलाई सुरक्षित बनाउन नागरिक आफै चनाखो हुनु पर्छ ’ उनले भने।
कार्यक्रममा प्रहरी निरीक्षक निर्दोष बाेहोराले कपिलवस्तुमा चालु आर्थिक वर्षको वैशाख महिना भित्र वैदेशिक रोजगारीमा ठगिएको सम्बन्धी ४८ वटा उजुरी परेको र त्यस मध्ये ३९वटा फर्छ्यौट भएको बताए। कानुनी जटिलताले अधिकांश घटना मिलापत्रबाट समाधान गर्ने गरिएको उनले बताए। ठगीको मुद्दामा कारबाहीमा अनकन समस्या आउने गरेको र यसबाट बच्न नागरिक आफै सचेत हुनु पर्ने उनको भनाइ छ।
सामी कार्यक्रमका जिल्ला संयोजक सुभाष रेग्मीले चालु आर्थिक वर्षको वैशाख महिना सम्म १ सय ७३ ठगी सम्बन्धी उजुरी परेकोमा १ सय २६ समाधान भएको विवरण पेस गरेका थिए। गत आर्थिक वर्ष २ सय ५ उजुरी परेको थियो। यस वर्ष उजुरीको समाधान गरी ४ करोड ५८ लाख ९ हजार ७३७ रुपैयाँ असुल उपर गरिएको थियो।
आर्थिक वर्ष २०८१र०८२ मा कपिलवस्तुबाट १७ हजार ५११ जनाले श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको मंसिर सम्म ४ लाख ४ हजार २८ जनाले नेपालभरबाट श्रम स्विकृति लिएको सामी कार्यक्रमका प्रदेश संयोजक जिया उल हकले बताए।
आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर बढ्दै गएको हो। गैर कानुनी ढङ्गले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरूको तथ्याङ्क भने फरक पर्न सक्ने रेग्मीले बताए।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले स्वदेशमा रोजगारीको अभाव र आर्थिक स्थितिका कारण वैदेशिक रोजगारीमा अहिले युवाहरूको आकर्षण बढेको बताए। एजेन्टको भरमा परेर विदेशमा जाँदा समस्या र जोखिम समेत उत्तिकै बढेको उनको भनाइ छ। वैदेशिक रोजगारीमा जानु आकर्षण र बाध्यता भए पनि सुरक्षित रुपले जानु पर्ने उनले बताए।
प्रकाशित: ९ जेष्ठ २०८३ ०९:०५ शनिबार





