मानिसको अधिकतम आयु कति हुन सक्छ ? यही प्रश्नको उत्तर खोज्दै गरिएको एक अध्ययनले बुढ्यौलीका अधिकांश कारण नियन्त्रण गर्न सकिए पनि मानव आयु करिब १५६ वर्षमै सीमित हुन सक्ने देखाएको छ।
अनुसन्धानकर्ताका अनुसार यसको प्रमुख कारण शरीरका कोशिकामा जीवनभर भइरहने ‘सोमाटिक उत्परिवर्तन’ मार्फत डीएनएमा हुने स्थायी परिवर्तन र क्षति हो। अध्ययनले गणितीय मोडलका आधारमा मानिसको अधिकतम सम्भावित आयुको आंकलन गरेको हो।
अध्ययनमा संलग्न रुसस्थित स्कोल्कोभो इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (स्कोलटेक) र आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताले एउटा आधारभूत प्रश्नबाट अध्ययन सुरु गरेका थिए, यदि भविष्यमा बुढ्यौलीका अन्य प्रमुख कारण हटाउन सकियो, तर शरीरका कोशिकामा जीवनभर भइरहने सोमाटिक उत्परिवर्तनलाई रोक्न वा सुधार्न नसकिएको अवस्थामा मानिस अधिकतम कति वर्ष बाँच्न सक्ला ?
वैज्ञानिकका अनुसार जीवनभर सोमाटिक उत्परिवर्तनका कारण शरीरका कोशिकाको डीएनएमा स्थायी क्षति र परिवर्तन हुँदै जान्छ, र उमेर बढ्दै जाँदा यसको मात्रा पनि बढ्दै जान्छ। सोमाटिक कोशिका भनेका प्रजननसँग सम्बन्धित शुक्रकीट र डिम्बबाहेक शरीरमा रहेका अन्य सबै कोशिका हुन्।
यस प्रश्नको उत्तर खोज्न अनुसन्धानकर्ताले सुरुमा यस्तो काल्पनिक अवस्था माने, जहाँ बुढ्यौली लाग्दैन र उमेर बढ्दै जाँदा मृत्युको जोखिम पनि बढ्दैन। त्यसपछि क्रमशः सोमाटिक उत्परिवर्तन, कोशिकाको क्षति तथा विभिन्न अंगको कार्यक्षमता घट्ने प्रक्रियालाई गणितीय मोडलमा समावेश गर्दै अन्तिम नतिजा निकाले। उक्त अध्ययनको नतिजा गत साता वैज्ञानिक जर्नल एनपीजी एजिङमा प्रकाशित भएको हो।
अध्ययनका क्रममा मस्तिष्क, मुटु, कलेजो र फोक्सोजस्ता मानिसका चार प्रमुख अंगलाई समेटेर मोडल तयार गरिएको थियो। अध्ययनअनुसार कलेजोलगायत शरीरका केही अंगले निरन्तर नयाँ कोशिका बनाउने क्षमता राख्छन्।
त्यहाँ पुराना कोशिकाको स्थानमा नयाँ कोशिका बन्ने भएकाले डीएनएमा हुने क्षतिको असर धेरै हदसम्म पूर्ति हुन्छ। त्यसैले यस्ता अंगले सयौं वर्षसम्म पनि आफ्नो काम गर्न सक्ने सम्भावना मोडलले देखाएको छ।
तर, मस्तिष्कका न्युरोन र मुटुका कार्डियोमायोसाइटजस्ता जीवनभर पुनःनिर्माण नहुने कोशिकाहरू मानव आयु सीमित गर्ने मुख्य अवरोधका रूपमा देखिएका छन्। यस्ता कोशिकामा हुने डीएनए परिवर्तनले समयसँगै ती अंगको कार्यक्षमता घट्ने र अन्ततः अंग नै असफल हुन सक्ने अध्ययनले जनाएको छ।
उमेर बढ्दै जाँदा सोमाटिक उत्परिवर्तनले कोशिकालाई क्षति पुर्याउने कुरा प्रमाणित भए पनि मानिसको अधिकतम आयु घटाउन यसको प्रभाव कति हुन्छ भन्ने विषय अहिलेसम्म स्पष्ट थिएन।
यही प्रक्रियाले मानव आयुमा कति प्रभाव पार्छ भन्ने मूल्याङ्कन गर्न अनुसन्धानकर्ताले गणितीय मोडल तयार गरेका थिए। बुढ्यौलीका अन्य कारणलाई उपचारमार्फत केही हदसम्म सुधार्न सकिए पनि वर्तमान विज्ञानले डीएनएमा हुने यस्तो क्षतिलाई पूर्ण रूपमा उल्ट्याउन सक्दैन।
अध्ययनमा संलग्न वैज्ञानिकका अनुसार यही समस्या मानव आयुको अन्तिम सीमामध्ये एक हुन सक्छ। यो सीमाको मुख्य कारण समयसँगै मस्तिष्कका स्नायु कोशिका र मुटुका मांसपेशीका कोशिकामा हुने क्षति पुनःनिर्माण हुन नसक्नु हो।
‘पुनःनिर्माण हुन नसक्ने न्युरोन र मुटुका कोशिकाहरू नै मानव आयु सीमित गर्ने प्रमुख कारक हुन्,’ अध्ययनका सहलेखक इभगेनी इफिमोभले अध्ययनको नतिजा सार्वजनिक गर्दै जारी गरेको वक्तव्यमा भनेका छन्।
१५६ वर्षको आँकडा कसरी आयो ?
अध्ययनका क्रममा वैज्ञानिकहरूले सुरुमा यस्तो काल्पनिक मानिसको परिकल्पना गरे, जसमा बुढ्यौली नै हुँदैन र उमेरसँगै मृत्युको जोखिम पनि बढ्दैन। यस्तो अवस्थामा मानिसको औसत आयु १,७५९ वर्ष पुग्न सक्ने मोडलले देखायो।
तर जब सोमाटिक उत्परिवर्तनलाई पुनः मोडलमा समावेश गरियो, त्यसपछि मानिसको सम्भावित आयु घटेर १५६ वर्षमा झर्यो। यसको मुख्य कारण मस्तिष्क र मुटुमा हुने डीएनएको स्थायी क्षति रहेको अध्ययनले देखाएको छ।
वैज्ञानिकहरूका अनुसार यो अध्ययनले बुढ्यौलीका विभिन्न कारणमध्ये कुन कारणले आयुलाई सबैभन्दा धेरै सीमित गर्छ भन्ने बुझ्न सहयोग गर्छ।
‘यस अध्ययनको उद्देश्य मानिस वास्तवमै १५६ वा १९० वर्ष बाँच्नेछ भन्ने दाबी गर्नु होइन। बरु, बुढ्यौलीका विभिन्न कारणमध्ये कुनले मानिसको आयु सबैभन्दा धेरै सीमित गर्छ भन्ने बुझ्नु र भविष्यमा गरिने उपचारले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ भन्ने मार्गदर्शन गर्नु हो,’ सहलेखक इफिमोभले वक्तव्यमा भनेका छन्।
हाल केही अनुसन्धान जैविक प्रक्रियालाई नियन्त्रण गर्ने औषधि, पुराना तथा निष्क्रिय कोशिका हटाउने उपचारलगायतका क्षेत्रमा केन्द्रित छन्। तर सोमाटिक उत्परिवर्तन रोक्न वा उल्ट्याउन अझै प्रभावकारी उपाय पत्ता लागेको छैन।
अनुसन्धानकर्ताका अनुसार यस अध्ययनले भन्छ- मानिसको आयु केवल सम्पूर्ण शरीरको बुढ्यौलीले मात्र सीमित हुँदैन, विशेष गरी मस्तिष्क र मुटुमा हुने दीर्घकालीन क्षतिले त्यसलाई सीमित गर्छ।
मानव आयुलाई सीमित गर्ने जैविक प्रक्रियामध्ये सोमाटिक उत्परिवर्तनलाई प्रमुख कारणका रूपमा उल्लेख गर्दै अनुसन्धानकर्ताले भविष्यमा बुढ्यौलीसँग सम्बन्धित अन्य जैविक प्रक्रियालाई पनि यही ढाँचामा अध्ययन गर्न सके मानव आयुको वास्तविक जैविक सीमा अझ स्पष्ट रूपमा बुझ्न सकिने बताएका छन्।
यसका साथै कोशिकाको प्राकृतिक सुरक्षा प्रणाली कमजोर हुँदै जानु, शरीरमा ऊर्जा उत्पादन गर्ने प्रणालीको कार्यक्षमता घट्नु, कोशिकाभित्रका आवश्यक प्रोटिनहरूको सन्तुलन बिग्रिनु तथा वंशाणु (जीन) को कार्यप्रणालीमा हुने परिवर्तनजस्ता बुढ्यौलीसँग सम्बन्धित अन्य जैविक प्रक्रियाले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्ने अध्ययनमा उल्लेख छ।
‘मानव आयु उल्लेख्य रूपमा बढाउन यी सबै पक्षमा एकसाथ अनुसन्धान र उपचार आवश्यक छ। भविष्यमा बुढ्यौलीसँग सम्बन्धित विभिन्न जैविक प्रक्रियालाई एउटै वैज्ञानिक ढाँचामा समेटेर विश्लेषण गर्न सकिए मानव आयुको वास्तविक जैविक सीमा अझ स्पष्ट रूपमा बुझ्न सकिनेछ,’ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रकाशित: ३ श्रावण २०८३ २०:२२ आइतबार





