८ आश्विन २०८२ बुधबार
image/svg+xml ७:१६ पूर्वाह्न
समाज

तराई-मधेशको सिँचाइ समस्या ‘द्रुत मार्ग’ बाट समाधान गर्न सकिन्छ : महानिर्देशक बराल

जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरवका आयोजनालाई 'आयोजनामा मात्र सीमित' नराखी समयमै सम्पन्न गरी प्रतिफल चाँडै उपभोग गराउन जोड दिएका छन्। 

उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न भए गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ। राष्ट्रिय ध्येय पूरा हुन्छ।’ विभागको ३०औं महानिर्देशकका रूपमा आइतबार पद बहाली गर्दै उनले तराई–मधेशमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझो रहेको उल्लेख गर्दै सिँचाइ समस्यालाई ‘द्रुत मार्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान खोज्न सकिने र विभाग त्यसका लागि तयार रहेको बताए। 

महानिर्देशक बरालले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै भने, ‘हामीसँग पर्याप्त पुँजी, दक्षता, सूचना प्रविधि, यातायात र आधुनिक नवीनतम प्रविधि छ। यस्तोमा समयमै आयोजना सम्पन्न गर्न कुनै बहानाबाजी चल्दैन।’ 

‘टिम इफोर्ट’ बिना काम सफल नहुने जनाउँदै उनले ‘टिम स्प्रिट’मा अहोरात्र खट्नुपर्नेमा जोड दिए। आफ्नो कार्यकालमा देशभरका आयोजनाको अनुभव र जिम्मेवारीको महत्त्व उल्लेख गर्दै उनले उपत्यका बाहिर नौ वर्ष जिम्मेवारी लिएर काठमाडौं फर्किएर विभागमा पाइला टेकेको अनुभव सुनाए। 

उनले भने, ‘आर्थिक वर्षको सुरुआतमा ‘टिम स्प्रिट’मा काम गरे असम्भव केही हुँदैन। यसले विभागको उद्देश्य र लक्ष्य पूरा हुन्छ र मन्त्रालयको निर्देशनअनुसार परिणाम देखिन्छ।’ 

आर्थिक वर्षको सुरुआती महिनाको आधा समय बित्दासमेत विभाग मातहतका आयोजनाका दुईवटा मात्र बोलपत्र आएको जनाउँदै उनले काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई आग्रह गरे। हाल विभागमा ६०१ जनाको दरबन्दी छ। उनले भने, ‘एकीकृत जलस्रोत व्यवस्थापनबाट सन्तुलित, स्थिर र दिगो आर्थिक विकास हासिल गर्ने, दिगो र भरपर्दो संरचनागत तथा गैरसंरचनागत प्रविधि र जनचेतना अभिवृद्धि गरी जलाधार व्यवस्थापन र जल उत्पन्न प्रकोप न्यूनीकरणबाट आर्थिक–सामाजिक हानि कम गर्ने विभागको लक्ष्य हो। सिँचाइ संरचनाको उचित विकास, मर्मत र व्यवस्थापन गरी कृषियोग्य भूमिमा वर्षभरि दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व र उत्पादन वृद्धि गरी गरिबी निवारणमा टेवा पुर्‍याउने दायित्व हो।’ 

नेपाल टेलिकमबाट बिल्डिङ कन्स्ट्रक्सन इन्जिनियरका रूपमा सेवा सुरु गरेका बरालले २०५१ देखि जलस्रोत तथा सिँचाइ विभागमा सेवा गरिरहेका छन्। ठूला सिँचाइ आयोजनामा अनुभव बटुलेका उनी जलस्रोत र सिँचाइ क्षेत्रका विज्ञका रूपमा परिचित छन्। 

कार्यक्रममा निवर्तमान महानिर्देशक सञ्जीव बरालले विभागले विज्ञ महानिर्देशक पाएकामा खुसी व्यक्त गर्दै उनको कार्यकालमा ऐतिहासिक काम हुने विश्वास व्यक्त गरे। कार्यक्रममा उपमहानिर्देशक सन्तोष कैनी र मुख्य प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले विभागका गतिविधिबारे जानकारी गराएका थिए। रासस 

प्रकाशित: १९ श्रावण २०८२ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App