प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुर्खेतकी इनिशा विक हत्या प्रकरणको अनुसन्धान तीव्र रूपमा भइरहेको र छिट्टै सत्यतथ्य सार्वजनिक हुने दाबी गरेका छन्।
राष्ट्रिय दलित आयोग तथा विभिन्न दलित अधिकारकर्मी संघ–संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढिरहेको बताएका हुन्।
पीडित परिवारसँग प्रहरी निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै उनले दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्ने र न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
‘इनिशा विक हत्या प्रकरणमा अनुसन्धानका लागि पर्याप्त रूपमा प्रहरी परिचालन गरिएको छ। छिट्टै सत्यतथ्य सार्वजनिक हुनेछ,’ महानिरीक्षक कार्कीले भने।
इनिशा प्रकरणको विषय टुंग्याएपछि कार्कीले समग्र जातीय विभेदविरुद्ध प्रहरीको नीतिबारे धारणा राखेका थिए।
जातीय तथा रंगभेद उन्मूलनका लागि नेपाल प्रहरी सक्रिय रूपमा लागेको उनले बताएका छन्। उनले जातीय विभेदजस्तो सामाजिक विकृतिको अन्त्यविना समतामूलक समाजको परिकल्पना अधुरो रहने औंल्याए।
यस्ता घटनामा प्रहरी संगठनले शून्य सहनशीलताको नीति अपनाएको उनले सुनाए। ‘जातीय विभेद् रोक्न प्रहरी सक्रिय रूपमा लागि परेको छ । यसलाई अन्त्य गर्न हामी निरन्तर प्रयासरत छौं, तर यसमा राज्यका अन्य निकाय, नागरिक समाज र सर्वसाधारणको पनि उत्तिकै भूमिका आवश्यक छ,’ उनले भने।
नेपालको संविधानले सुनिश्चित गरेको समानता, स्वतन्त्रता र सामाजिक न्यायको अधिकार व्यवहारमा लागू गराउन प्रहरी प्रतिबद्ध रहेको उनले बताए।
सबै नागरिकले विना कुनै भेदभाव समान हक-अधिकार उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै उनले विभेदजन्य गतिविधि गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याइने चेतावनी दिए।
विभेद अन्त्यका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि आवश्यक रहेको उनको भनाइ छ।
प्रकाशित: ७ चैत्र २०८२ २०:२७ शनिबार





