सडक विस्तारका क्रममा तार काटिएपछि लहानका चार सयभन्दा बढी सेवाग्राही करिब १२ घण्टादेखि टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।
मर्मत कार्यका लागि नेतृत्व गर्नुपर्ने नेपाल टेलिकम लहानका प्रमुख उग्रकान्त झा सम्पर्कविहीन हुँदा सेवा सञ्चालनमा ढिलाइ भएको हो।
शनिबार बिहान कमला–कञ्चनपुर सडक योजनाअन्तर्गत ठेकेदार कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ को लापरबाहीले हुलाक कार्यालय नजिकै टेलिकमको तार काटिएको थियो।
बिदाको दिन टेलिकम प्रमुख झा सरकारी गाडी लिएर बाहिरिएको र उनको कार्यालय प्रयोजनको मोबाइल ‘स्वीच अफ’ रहेका कारण मर्मत टोली खटिन सकेको छैन।
कार्यालय प्रमुखको निर्देशन नआएकाले मर्मतको काम अघि बढाउन नसकिएको टेलिकमका प्राविधिक जितेन्द्र यादवले बताए।
‘हामी प्राविधिक कर्मचारी हौँ, बिदाको दिन हाकिमको निर्देशनबिना कुन हिसाबले काम गर्नु ?’ उनले भने, ‘उहाँले अहिलेसम्म हामीलाई सम्पर्क गर्नुभएको छैन।’
यता, सडक योजनाका प्रमुख उज्ज्वल श्रेष्ठले तार व्यवस्थापनका लागि ठेकेदार कम्पनीले बिहानै टेलिकमलाई म्यासेज गर्दा पनि जवाफ नपाएको दाबी गरेका छन्। यद्यपि, टेलिकमका प्राविधिकहरूले भने उक्त म्यासेजबारे अनभिज्ञता प्रकट गरेका छन्।
सञ्चार जस्तो अत्यावश्यक सेवा अवरुद्ध हुँदा मर्मतमा सक्रिय हुनुपर्ने कार्यालय प्रमुख नै सम्पर्कविहीन बन्नु गैरजिम्मेवारीपन भएको भन्दै स्थानीय सञ्जीव साहले आक्रोश व्यक्त गरे।
प्रकाशित: ५ वैशाख २०८३ २१:४२ शनिबार





