२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

अन्तर प्रदेश चल्ने सवारीको भाडा २ प्रतिशतले घट्यो

सरकारले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा २ प्रतिशतले घटाएको छ। यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै बिहीबार देखि लागू हुने गरी नयाँ भाडादर समायोजन गरेको हो।

विभागका अनुसार दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रूटमा सञ्चालन हुने यात्रुवाहक सवारी, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडादरमा समान २ प्रतिशतले कटौती गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले स्वचालित प्रणालीअनुसार यो निर्णय लिएको हो। यसअघि भाडा समायोजन गर्दा प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको डिजेलको मूल्य असार १७ गते घटेर प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएको थियो।

विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले थपघट भएमा स्वचालित रूपमा भाडा समायोजन गर्ने व्यवस्था छ।

यसअघि विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार मन्त्रीस्तरको मिति २०८३ वैशाख १२ गतेको निर्णयानुसार भाडादर ५ प्रतिशतले मात्र वृद्धि गरिएको थियो।

तत्कालीन समयमा वैज्ञानिक प्रणालीअनुसार यात्रुवाहकमा ९.८ प्रतिशत, पहाडी मालवाहकमा १२.९ प्रतिशत र तराई मालवाहकमा १४.३ प्रतिशत भाडा बढ्नुपर्ने थियो।

सो समयमा पूर्ण रूपमा बढ्नुपर्ने भाडादर नबढेको र हाल पेट्रोलियम पदार्थमा मूल्य समायोजन भएको अवस्थालाई मध्यनजर गर्दै हाललाई २ प्रतिशत भाडा घटाइएको विभागले बताएको छ।

निर्धारित अन्तर प्रदेश मार्गहरूमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नयाँ भाडा-सूची विभागको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित: १८ असार २०८३ १६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App