२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भ्रष्टाचारविरुद्ध मुख्यमन्त्री विजय : कसैले घूस मागे मेरो नाम लिनुस्, म तपाईंसँगै छु

दक्षिण भारतीय राज्य तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले सरकारी काममा घूस माग्ने जोसुकैलाई पनि स्पष्ट रूपमा अस्वीकार गर्न जनतासँग आग्रह गरेका छन्।

आफ्नो सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएको बताउँदै उनले घूसको मागलाई ठाडै अस्वीकार गर्न र डर नमान्न जनतालाई विश्वास दिलाएका हुन्। गत शुक्रबार करुरमा आयोजित एक सार्वजनिक सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले भने, ‘यदि कसैले तपाईंसँग घूस माग्छ भने, उनीहरूलाई दृढतापूर्वक भन्नुहोस्- म दिन सक्दिनँ। म यहाँ तपाईंको साथमा छु।’ उनले आफ्नो प्रशासनले सरकारी कार्यालयभित्र जरो गाडेको भ्रष्टाचारको अभ्यास भत्काउन थालेको दाबी गरे। उनले थपे, ‘अब कुनै पनि सरकारी कार्यालयमा जानुहोस्। एक रुपैयाँ पनि घूस छैन। एक रुपैयाँको भ्रष्टाचार पनि छैन। काम त्यसरी नै भइरहेको छ-टिक... टिक... टिक।’

उनले आफ्नो सरकारको नीतिबारे स्पष्ट पार्दै थप भने, ‘यदि कसैले अझै पनि तपाईंलाई जबरजस्ती गर्न खोज्छ भने, उनीहरूलाई दृढतापूर्वक भन्नुहोस् कि यो हाम्रो छोरा हो, हाम्रो जेठो भाइ हो, यो विजयको सरकार हो।’ सरकारी स्रोतका अनुसार घूसखोरीविरुद्ध प्रमाण जुटाउने नागरिकहरूलाई पुरस्कृत गर्ने संयन्त्रमाथि पनि सरकारले काम गरिरहेको छ।

चलचित्रको दुनियाँमा ‘सुपरस्टार’ को छवि बनाएका मुख्यमन्त्री विजयको राजनीतिमा प्रवेश निकै प्रभावशाली छ। सन् २०२६ को मे महिनामा मुख्यमन्त्रीको पदभार ग्रहण गरेका विजयले अत्यन्त छोटो समयमै जनताको मन जित्न सफल भए। जनताको अपार समर्थन र विश्वासका साथ सत्तामा आएका उनले आफ्नो प्रशासनलाई पारदर्शी र जनमुखी बनाउने अभियान चलाइरहेका छन्। 

अभिनेताका रूपमा कमाएको लोकप्रियतालाई उनले सुशासन र भ्रष्टाचारविरुद्धको लडाईंमा ऊर्जाका रूपमा प्रयोग गरिरहेका छन्, जसलाई तमिलनाडुको राजनीतिमा नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ।

विजयको शासन प्रणाली मुख्यतया जनकल्याण, सामाजिक सुरक्षा र युवा सशक्तीकरणमा केन्द्रित छ। यस अन्तर्गत प्रत्येक परिवारलाई प्रतिमहिना २०० युनिटसम्म निःशुल्क बिजुली र विपन्न परिवारका महिलाहरूलाई प्रतिमहिना दुई ५०० भारतीय रुपैयाँ आर्थिक सहायता दिने योजना अघि सारिएको छ। 

शिक्षा क्षेत्रमा आधुनिक सुधार ल्याउन विद्यालयहरूमा कृत्रिम बौद्धिकता (एआई) र नयाँ प्रविधि समेटिएको पाठ्यक्रम विकास गर्न पूर्व अन्तरिक्ष वैज्ञानिकको नेतृत्वमा विशेष समिति गठन गरिएको छ। शैक्षिक वातावरणलाई राजनीतिक प्रभावबाट मुक्त राख्न सरकारी विद्यालयभित्र राजनीतिक दलका गतिविधि र नेताहरूको सहभागितामा पूर्ण प्रतिबन्ध लगाइएको छ।

सामाजिक सुरक्षा र स्वास्थ्यलाई सुदृढ बनाउन राज्यव्यापी लागुऔषध नियन्त्रण कार्यदल र छुट्टै महिला सुरक्षा बल स्थापना गरिएको छ। नागरिकहरूका लागि २५ लाख भारतीय रुपैयाँसम्मको स्वास्थ्य बिमा र विद्यार्थीहरूका लागि २० लाख भारतीय रुपैयाँसम्मको शैक्षिक ऋणको व्यवस्था मिलाइएको छ। 

यसै कल्याणकारी मार्गचित्र अन्तर्गत नवजात शिशु र आमाहरूको सहायताका लागि ‘मामाले दिने सुनको औंठी योजना’ घोषणा गरिएको छ। यस अन्तर्गत सरकारी अस्पतालमा जन्मने प्रत्येक नवजात शिशुलाई राज्य सरकारको तर्फबाट आशीर्वाद स्वरूप एक ग्रामको सुनको औंठी र शिशुका लागि आवश्यक सामग्रीहरू भएको उपहार झोला दिइनेछ।

यो आर्थिक गुरुयोजनाले तमिलनाडुलाई एक विकसित राज्य बनाउने र विश्वव्यापी इलेक्ट्रोनिक्स निर्यातमा यसको अग्रणी स्थानलाई अझ बलियो पार्ने लक्ष्य राखेको छ।

सो अवसरमा उनले आफ्नो चुनावी अभियानका बेला सेप्टेम्बर २०२५ मा भएको भागदौडको घटना स्मरण गर्दै मुख्यमन्त्री विजय भावुक बने। उक्त त्रासदीमा ४१ जनाले ज्यान गुमाएका थिए। नौ महिनापछि करुर फर्किएका उनले उक्त घटनालाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा पीडादायी अध्याय भएको बताए।

उनले भने, ‘ती साना बालबालिकाहरू जो आफ्ना आमाहरूलाई मुस्कुराउँदै अम्मा, विजय आमा भन्ने गर्थे। हामीले ती बहुमूल्य बालबालिकाहरू गुमाएका छौं। मैले मेरा दिदीबहिनीहरू, मेरा भाइहरू, मेरो परिवार गुमाएको छु।’ विजयले उक्त घटना प्रशासनिक असफलता मात्र नभई जानाजानी गरिएको राजनीतिक खेल भएको संकेत गरे। प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै उनले भने, ‘यसको पछाडि एउटा पूरै नाटक थियो। मैले उनीहरूलाई पूर्ण विश्वास गरें।’

उनले पीडित परिवारका लागि सरकारी जागिर, स्मारक निर्माण र उनीहरूको सम्मान गर्ने वाचा दोहोर्‍याए। अघिल्लो सरकारलाई लक्षित गर्दै उनले संस्थागत भ्रष्टाचारको अन्त्य गरी जनताले राहतको सास फेर्न पाएको दाबी गरे। यो भ्रमणलाई नोकरशाहीमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने कडा चेतावनीका रूपमा लिइएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: २९ असार २०८३ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App