अन्तरदेशीय संगठित अपराध र स्क्याम सेन्टर सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की आइतबार थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्।
अमेरिकी संघीय अनुसन्धान ब्युरो र रोयल थाई पुलिसको संयुक्त आयोजनामा साउन ४ र ५ गते बैंककमा सम्मेलन आयोजना हुँदैछ।
‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम’ नामक उक्त सम्मेलनमा सहभागी हुन महानिरीक्षक कार्कीसँगै प्रहरी उपरीक्षक धर्मराज भण्डारी पनि थाइल्याण्ड प्रस्थान गरेका हुन्।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायव महानिरीक्षक (डीआईजी) लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
सम्मेलनमा संगठित अपराधका पछिल्ला चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति तय गर्ने, संयुक्त कार्य योजना निर्माण गर्ने तथा अन्तरदेशीय समन्वय सुदृढ बनाउने लगायतका मुख्य एजेण्डाहरूमा विस्तृत छलफल हुने नेपाल प्रहरीले जनाएको छ।
प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्हाल्नेछन्।
प्रकाशित: ३ श्रावण २०८३ २०:५२ आइतबार





