११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अन्तर्दृष्टि पुरस्कार २०८२ : दृष्टिविहीन विद्यार्थीले छानेका शिक्षक, साथी र पत्रकार सम्मानित

अपांगता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा गरिएको छ। समाजमा अपांगताप्रति रहेको नकारात्मक सोच हटाएर समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्यले डा. कमल लामिछानेले २०७७ सालमा स्थापना गरेको ‘अन्तर्दृष्टि पुरस्कार’ यो वर्ष तीन जनाले पाउने भएका छन्। 

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार  
देशभरका समावेशी विद्यालयमा कक्षा ८–१० मा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूले गरेको सर्वेक्षणका आधारमा बागमती प्रदेश, काठमाडौंको ल्याबोरेटरी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई यो पुरस्कार प्रदान गरिनेछ। शिक्षण शैली, सामाजिक व्यवहार र अपांगताप्रतिको सकारात्मक दृष्टिकोणका कारण विद्यार्थीहरूले उनलाई सर्वाधिक मत दिएका थिए। उनलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

अन्तर्दृष्टि हातेमालो पुरस्कार  
दृष्टिविहीन साथीहरूसँग निरन्तर हातेमालो गर्दै पढाइमा सहयोग गर्ने, व्यवहारमा मित्रता देखाउने र सिकाइ आदानप्रदान गर्ने विद्यार्थीलाई यो पुरस्कार दिइन्छ। यस वर्ष ल्याबोरेटरी माध्यमिक विद्यालयमै कक्षा ८ मा अध्ययनरत प्रसिखा भट्टराईले यो सम्मान पाएकी छिन्। उनलाई १० हजारसहित प्रमाणपत्र दिइने अन्तर्दृष्टि पुरस्कार समितिले जानकारी दिएको छ। 

अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार
नेपाल टेलिभिजनकी पत्रकार आरती चटौतले अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार पाएकी छिन्। अपांगता भएका व्यक्तिको सकारात्मक छवि निर्माण गर्ने, उनीहरूको क्षमता र अवसरलाई उजागर गर्ने तथा समावेशी समाजका लागि कलम चलाउने पत्रकारलाई दिइने यो पुरस्कार प्रदान गर्ने गरिएको छ। उनले पनि १५ हजारसहित प्रमाणपत्र पाउने समितिले जानकारी दिएको छ। 

पुरस्कार समितिका सदस्यहरू डा. कमल लामिछाने, होमनाथ अर्याल, सरिता लामिछाने र सुनिता थापा रहेका थिए। सम्मानित तीनै जनालाई आगामी वसन्त पञ्चमीका दिन विशेष समारोहमा पुरस्कार वितरण गरिनेछ।

प्रकाशित: १७ मंसिर २०८२ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App