२७ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

इन्द्रजात्राको साइत सार्वजनिक: आइतबार रुख काटिने, असोज ९ मा मुख्य दिन

फाइल।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राको सम्पूर्ण साइत सार्वजनिक गरेको छ।

भाद्रपद शुक्ल द्वितीयाबाट सुरु हुने परम्पराअनुसार भदौ २८ गते आइतबार वनयात्रा र रुख कटान गरी इन्द्रजात्राको विधिवत् प्रक्रिया थालिने भएको छ।

समितिका अनुसार इन्द्रध्वजाको लिङ्गोका लागि रुख काट्न वन प्रस्थान गर्ने साइत आइतबार बिहान ९:५३ बजे जुरेको छ। यस्तै रुख काट्ने शुभ साइत सोही दिन राति ८:४७ बजे रहेको समितिका अध्यक्ष एवं सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए।

इन्द्रजात्राको लिङ्गोका लागि भक्तपुरको चित्तपोलस्थित वनबाट रुख काट्ने प्राचीन परम्परा रहिआएको छ। रुख काटेर तयार पारिएको लिङ्गोलाई असोज ३ गते शनिबार बिहान ८:०५ बजे नगर प्रवेश गराउने साइत तय गरिएको छ।

त्यसपछि असोज ७ गते बुधबार बिहान ७:४७ बजे हनुमानढोकामा विधिवत् रूपमा इन्द्रध्वजोत्थान गरिनेछ।

इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा क्वःने याः (तल्लो टोल यात्रा) गराइनेछ। यस दिन राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वहरू हनुमानढोकास्थित ऐतिहासिक गद्दी बैठकमा पुगेर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ। त्यसको भोलिपल्ट अर्थात् असोज १० गते शनिबार थने याः (माथिल्लो टोल यात्रा) सञ्चालन हुनेछ।

यस्तै, असोज १३ गते मंगलबार महिलाहरूले मात्र रथ तानेर नानीचा यात्रा गरिनेछ। सोही दिन राति ९:२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ।

लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षबाट जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन तथा प्रसाद ग्रहण गरेसँगै १३ दिन लामो इन्द्रजात्रा पर्वको औपचारिक समापन हुनेछ।

प्रकाशित: २७ भाद्र २०८३ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App