त्रिशूली नदीको बाढीले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरखण्ड खुलाउन युद्धस्तरमा काम भइरहेको छ।
भित्तातर्फबाट नयाँ ट्रयाक खन्ने काम सकिएसँगै अबको दुईदेखि तीन दिनभित्र यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरि तयारी गरिएको छ।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिमखण्ड) का अनुसार हाल नयाँ ट्रयाकलाई ‘ग्रेड डाउन’ गरी सबग्रेड तयार पार्ने काम तीव्र गतिमा अघि बढाइएको छ। आवश्यक जनशक्ति तथा उपकरणहरू परिचालन गरेर रातदिन काम भइरहेको छ।
शनिबार कटिङको काम लगभग सकिएपछि हाल ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाउने काम सकिएलगत्तै रोलर थपेर रोलिङको काम सुरु गरिनेछ।
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडकको जग नै भासिएपछि कृष्णभीर खण्डमा आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।
राजधानीलाई देशका विभिन्न भूभागसँग जोड्ने लाइफलाइन सडक नै अवरुद्ध भएपछि वैकल्पिक ट्रयाक निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइएको हो।
प्रकाशित: २७ भाद्र २०८३ १६:०६ शनिबार





