भारतले विशेष उडानमार्फत् आफ्ना नागरिकलाई फिर्ता लैजान सुरु गरेको छ ।
जेन-जीहरुको आन्दोलनका कारण नेपालका विभिन्न स्थानमा रोकिएका आफ्ना नागरिकलाई भारत सरकारले विशेष उडानमार्फत् स्वदेश फर्काउन थालेको हो । त्यसका लागि एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु गरेका छन् ।
सोमबारदेखि सुरु भएको आन्दोलनले हिंसात्मकरुप लिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो । यसले भारतीयसहित विभिन्न देशका नागरिक अलपत्र परेका थिए । बुधबारदेखि विमानस्थल खुलेसँगै विभिन्न देशका नागरिक स्वदेश फर्कन थालेका थिए ।
भारतको नागरिक उड्डयन मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन एयर इन्डिया र इन्डिगोसँगको समन्वयमा अतिरिक्त उडानको व्यवस्था गरेको छ ।
प्रकाशित: २६ भाद्र २०८२ १३:२२ बिहीबार





