१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

बढ्दो सहरीकरणले पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

दसौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ।’

राष्ट्रपति पौडेलले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउने सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन्। 

सन्देशमा भनिएको छ, ‘भूकम्प एक प्राकृतिक विपत् हो। प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ।’

नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागिरहनुपर्ने उनको भनाइ छ। 

नवनिर्मित एवं पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनुपर्ने उल्लेख गर्दै उनले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्‍याउने सबैलाई सन्देशमा धन्यवाद दिएका छन्। रासस

प्रकाशित: १२ वैशाख २०८३ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App