मुस्ताङमा उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ। यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ। यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार यहाँका स्याउ बगैँचाबाट पोखरा-काठमान्डौं लगायत स्थानमा पुर्याइसकिएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष यस्तो स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि भएको अनुमान छ। कार्यालय प्रमुख राजेश गुरुङले यहाँको प्रारम्भिक सर्वेक्षणमा स्याउ उत्पादनमा वृद्धि भएको देखिएको बताए।
गत वर्ष मुस्ताङमा ६० हेक्टर ‘हाइब्रिड’ स्याउ बगैँचा क्षेत्र रहेकामा उत्पादनशील ५० हेक्टर क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको उनले बताए। यस वर्ष गत वर्षभन्दा एक सय २५ मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख गुरुङको भनाइ छ।
यहाँ परम्परागत स्थानीय जातका स्याउको उत्पादनमा भने ह्रास आउने देखिएको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ। यस वर्ष गत वर्षको तुलनामा स्थानीय जातको स्याउ १५ प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको केन्द्र प्रमुख गुरुङले बताए।
गत वर्ष यहाँ आठ सय ३० हेक्टरमा स्थानीय लगाइएकामा छ हजार ७८ दशमलव ८४ प्रतिशत मेट्रिक टन उत्पादन भएको थियो। ज्ञान केन्द्रले गत वर्षभन्दा ९२ मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको छ।
थासाङ -१ टुकुचेका कृषक दिपसागर थकालीले यस वर्ष थासाङ क्षेत्रमा स्थानीय स्याउको उत्पादन एक तिहाईले घटेको बताए। “गत वर्ष लटरम्म फलेको थियो तर यस वर्ष बोटमा स्याउ नै थोरै फलेको छ”, उनले भने।
केही क्षेत्रमा भने उत्पादनमा समस्या नआउने अनुमान छ। यहाँको घरपझोङ - ५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपरेको फार्मका सञ्चालक कर्म गुरुङले बताए। बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानले समेत स्याउ उत्पादनमा फरक पर्ने उनले बताए।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बोटमा फूल फुल्दै गरेको बेला वर्षा भएकाले असर पुर्याएकाले उत्पादनमा कमी आउने देखिएको बताए। तथापि जिल्लामा कति स्याउ उत्पादन भयो भन्नेबारे असोजपछि यकिन हुने उनको भनाइ छ।
केन्द्रका अनुसार स्थानीय र ‘हाइब्रिड’ गरी गतवर्ष यहाँ छ हजार १६ हेक्टर क्षेत्रफलमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। जसमध्ये १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको थियो भने ९० प्रतिशत स्याउ बाहिर निकासी भएको थियो। स्याउ निकासीबाट ८२ करोड ६८ लाख रूपैयाँ कारोबार हुँदा नौ करोड १८ लाख ६७ हजार बराबर जिल्लामै खपत भएको ज्ञान केन्द्रले जनाएको छ।
प्रकाशित: २६ भाद्र २०८२ ०७:२२ बिहीबार





