१९ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

रोल्पामा तीर्थयात्री सवार जिप ८ सय मिटर तल खस्यो: १६ जना घाइते

रोल्पाको थबाङ गाउँपालिका-१ सल्याबमा तीर्थयात्री सवार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

रुकुम पूर्वबाट जलजलामा लाग्ने मेला भर्न जाँदै गरेको जिप बिहीबार दिउँसो करिब २ः४० बजे सडकबाट ८ सय मिटर तल खसेको हो।

घटनास्थलमा भारी वर्षा भइरहेका कारण घाइतेहरूको उद्धारमा निकै कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनील थापाले भौगोलिक विकटता र वर्षाका कारण घाइतेहरूको थप विवरण संकलन गर्न र उद्धार कार्यलाई तीव्रता दिन कठिन भइरहेको जानकारी दिए।

उनका अनुसार घटनास्थलमा नेटवर्कको समेत समस्या देखिएकाले सञ्चार सम्पर्क सहज हुन सकेको छैन।

‘भोलि जलजलामा लाग्ने विशेष मेला भर्नका लागि जाँदै गरेका तीर्थयात्रीहरू थबाङ पुग्नुअघि नै दुर्घटनामा परेका हुन्,’ प्रहरी निरीक्षक थापाले भने, ‘अहिले प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ।’

प्रहरीका अनुसार जिप सडकबाट निकै तल खसेकाले घाइतेहरूलाई सुरक्षित स्थानमा ल्याउन समय लागिरहेको छ। घाइतेहरूको परिचय खुल्न बाँकी रहेको र उनीहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App