१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

बाढीको असर धार्मिक पर्यटनमा: रोकियो कैलाश मानसरोवर यात्रा, पर्यटन क्षेत्रमा सकस

भोटेकोशी बाढीको मारमा यो पटक धेरैजना विदेशी पाहुना पनि परे । ती मध्ये केही विदेशी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा थिए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको चपेटामा परेका अझै झन्डै ६ सय जना विदेशी पर्यटक अझैपनि सम्र्पकविहीन छन् । त्यस्तै विदेशी पर्यटकसँगै गएका १ सय २७ जना नेपाली पनि त्यही मारमा परेका छन् ।  

बाढीले क्षतविक्षत पारेपछि रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ जाने मार्ग बन्द हुँदा त्यसको असर धार्मिक पर्यटनमा परेको छ । नाकाबाट चीनको तिब्बततर्फ जाने मुख्य मार्ग अवरुद्ध हुँदा कैलाश मानसरोवर परिक्रमाका लागि जानेगरि नेपाल आईसकेका भारतीय पर्यटक प्रभावित भएको व्यावसायीले बताएका छन । त्यस्तै आउने तयारीमा रहेका धेरै भारतीय पर्यटक पनि रोकिएको व्यावसायीले बताएका छन् ।  

‘कैलाश मानसरोवर जाने मुख्य सिजन हो । तर, यही बेला ठूलो क्षति हुने गरि बाढी आयो, त्यसको मार धार्मिक पर्यटनमा पनि परेको छ,’ भारतीय पाहुनालाई कैलाश मानसरोवर पठाउँदै आएका पर्यटन व्यावसायी ओमप्रकाश पाण्डे भन्छन, ‘अघिल्लो वर्ष पनि यही अवस्था आयो । अहिले पनि सिजन चलिरहँदा मार परेको छ । धेरैजना पर्यटक हराएका छन् । पर्यटकसँगै नेपाली सहयोगी पनि सम्पर्कविहीन छन् ।’

पाण्डेका अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्म कैलाश मानसरोवर जाने मुख्य पर्यटकीय सिजन हो । तर, यो पटक सिजनमै असर पर्नेगरि प्राकृतिक विपत् आइपरेको छ । ‘मानसरोवर जानका लागि आउने थुप्रै भारतीय पर्यटक रोकिएका छन् । कतिपय काठमाडौं आइसकेका थिए, उनीहरु पनि जान पाएनन,’ उनले भने, ‘पोहोर पनि यही अवस्था आइपरेको थियो । यो पटक त झनै बढि समस्या निम्तियो ।’

व्यावसायीका अनुसार कैलाश मानसरोवर जानेगरि चीन सरकारले रसुवा–केरुङ नाका खुला गरेको थियो । पाण्डेका अनुसार आफ्नो कम्पनिमार्फत कैलाश मानसरोवर जान आएका १ सय ३ जना भारतीय पर्यटक बाढीको चपेटामा परेर सम्पर्कविहीन छन ।  

कैलाश मानसरोवर जाने पर्यटकलाई नेपालगञ्ज–हुम्ला हुँदै पठाउन सकिने विकल्प भएपनि पर्यटकका लागि त्यो मार्ग महंगो पर्ने व्यावसायीको भनाई छ । पर्यटकलाई नेपालगञ्जबाट हुम्लाको सीमकोटसम्म पुन अर्को जहाजमा जानुपर्ने हुन्छ । सीमकोटबाट हेलिकप्टरमार्फत हिल्सा हुँदै तिब्बतसम्म पुग्दा एकजना पर्यटकले झन्डै एकलाख रुपैयाँ अतिरिक्त आर्थिक भार खेप्नुपर्छ । रसुवा हुँदै आउजाउ गर्दा कम्तिमा पनि एकलाख रुपैयाँ सस्तो पर्ने भन्दै भारतीय पर्यटकहरु काठमाडौंसम्म जहाजमा आएर रसुवा हुँदै जाने गरेका थिए । तर, अहिले त्यो बाटो नभएको यात्रा रोकिएको उनले बताए । यो सिजनमा कतिपय भारतीय तीर्थयात्री नेपालगञ्जबाट हुम्ला हुँदै कैलाश मानसरोवर जान्छन ।

‘हाम्रो कम्पनिले यो सिजनमा कम्तिमा एकहजार भारतीय पर्यटकलाई कैलाश मानसरोवर दर्शन गराउने लक्ष्य राखेको थियो । बुकिङ पनि निकै नै राम्रो आएको हो । तर, आउजाउ गर्ने बाटो नै भएन । हुम्ला हुँदै आउजाउ गर्न पनि सहज छैन,’ उनले भने, ‘बाढी पहिरोले आउजाउमा सकस बनाउँदा पर्यटन क्षेत्रले पनि नोक्सानी खेप्नुपर्ने अवस्था आएको छ ।’

पर्यटन क्षेत्रका जानकारहरुका अनुसार यो समय कैलाश मानसरोवर जाने उपयुक्त हो । तर, अहिले आउजाउ सहज छैन । पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेका अनुसार यो सिजनमा कम्तिमा ४० हजार पर्यटक नेपाल हुँदै कैलाश मानसरोवर जान्छन । ‘रसुवागढी नाका हुँदै तिब्बलतको कैलाश मानसरोवर जाने हो । कैलाश मानसरोवरको यो मुख्य सिजन पनि हो,’ उनले भने, ‘तर बाढीले गर्दा यात्रा रोकिएको छ ।’  

उनका अनुसार नेपालको बाटो सहज हुने भन्दै तेस्रो मुलुकका विदेशी पनि यही बाटो भएर मानसरोवर जान्छन । त्यसबाहेक भारतीयको संख्या अधिक हुने गरेको उनले बताए । ‘सहजै जान पाइने भएकोले भारतीयहरु पनि नेपाल भएर कैलाश मानसरोवर जान्छन । यताबाट नजिक र सहज पनि छ । योपटकका लागि सिजन सकिनै थालेको छ । तत्कालै बाटो बन्ने अवस्था छैन र बाटो बनिहाले पनि त्यो बेलासम्म सिजन सकिन्छ,’ उनले भने । उनले पनि मानसरोवर यात्राका लागि आएका केही पर्यटक काठमाडौंमै रोकिएका छन । केही भारत फर्किएका छन् । धेरैले त यात्रा रद्द नै गरिसकेको उनले बताए ।  

स्वदेशी र विदेशी पर्यटकलाई कैलाश मानसरोवर यात्रा गराउँदै आएका व्यवासायीको छाता संस्था एशोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपालका सचिव गोपाल थापाका अनुसार बाढीपछि कैलाश जाने पर्यटकका लागि यात्रा अनुमति अहिले रोकिएको छ । यसअघि पाएको अनुमति अनुसार पनि जान पाइने वा नपाइने भन्ने यकिन नभएको उनले बताए । थापाकै कम्पनिबाट कैलाश मानसरोवर गएको पर्यटकको समूह पनि सम्पर्कविहीन भएको छ । ‘योपटक बाढीले ठुलो आकारमा भौतिक र मानवीय क्षति गरेको छ । हाम्रै परिवारका सदस्य पनि सम्पर्कविहीन छन् । सरकारको आश्वासन पर्खिनुबाहेक अरु विकल्प छैन,’ उनले भने ।  

उनका अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्मको सिजनका लागि २५ हजार कोटा भारतीय पर्यटकका लागि पाइन्छ । यो पटक त्यो कोटा पुरा भइसकेको छ । ‘२५ हजार भारतीको कोटा पुरा भएको थियो । ती मध्ये केही जाने तयारीमा थिए । हामीले वर्षमा २५ हजारको कोटा मात्र पाउँछौ । भारतीय बाहेक तेश्रो मुलुक र नेपालका पर्यटक पनि कैलाश मानसरोवर जान्छन,’ उनले भने ‘धार्मिक मात्र नभई घुमघामकै उद्देश्यले पनि कैलाश जाने यूरोपियन र अमेरिकी पर्यटक हुन्छन । नेपालको रुट छोटो र सस्तो पर्ने भएकोले पनि पर्यटकले यो रुट प्रयोग गर्छन ।’  

उनका अनुसार वर्षमा २५ हजार भारतीय, १० हजार तेस्रो मुलुकका र अरु नेपाली गरि वर्षमा करिब ४० हजार पर्यटक नेपालको बाटो हुँदै कैलाश मानसरोवर जाने गर्छन ।

प्रकाशित: १८ भाद्र २०८३ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App