सर्लाहीको धनकौल गाउँपालिकामा चार दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा फेला परेकी छन्।
धनकौल गाउँपालिका-३ हरकठवाका रामविनय यादवको १० वर्षीया छोरी चाँदकुमारी यादवको शव मङ्गलबार साँझ फेला परेको हो।
गत आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा धनकौल-४ स्थित मनुष्मारा खोलामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बालिका हराएपछि परिवार, स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजीलाई तीव्र बनाएको थियो। निरन्तरको प्रयासपछि चार दिनमा उनको शव खोलामा भेटिएको हो। गर्मीको समयमा नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशङ्का छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले घटनाबारे विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थलको मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि वीरगञ्ज पठाइएको उनले बताए।
डीएसपी गौतमका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको यकिन कारण खुल्नेछ भने त्यसपछि शव अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइनेछ।
प्रकाशित: १८ भाद्र २०८३ १६:०७ बिहीबार





