प्रतिनिधिसभाको बिहीबारको बैठक चलिरहेकै बेला उच्च रक्तचापका कारण अस्वस्थ भई सिटबाट ढलेका सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काको अवस्था अहिले सामान्य रहेको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का अचानक सिटबाट लडेका थिए। उनी ढलेलगत्तै बैठक केहीबेर रोकिएको थियो। संसद्भित्रै प्राथमिक स्वास्थ्य उपचार गरेपछि उनलाई तत्कालै वीर अस्पताल पुर्याइएको थियो।
कांग्रेस सांसद सीता थपलियाका अनुसार उच्च रक्तचाप बढेपछि रिँगटा लागेर उनलाई असहज महसुस भएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकको प्रारम्भिक जाँचमा उनको अवस्था सामान्य देखिएको छ। यद्यपि, स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा अस्पतालमै राखिएको आफन्तले जनाएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बेले सभापति खड्काको स्वास्थ्यमा सुधार आएको र अहिले खतरामुक्त रहेको जानकारी दिएका छन्। अस्पताल पुगेका नेता आङदेम्बेले भने, ‘अहिले उहाँ होसमा हुनुहुन्छ। बोल्न थाल्नुभएको छ।’
प्रकाशित: १८ भाद्र २०८३ १६:४२ बिहीबार





