१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

किसानको अनुदानमा भ्रष्टाचार: नक्कली बिल बनाएर ८ लाख ‘झ्वाम’ पार्ने हाकिमसहित ४ जनाविरुद्ध मुद्दा

सिरहाको औरही गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख २ हजार ८७८ रुपैयाँ बिगो दाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। नक्कली बिल भर्पाइ खडा गरी किसानको अनुदान रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ।

मुद्दा दायर हुनेहरूमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख (पशु अधिकृत) रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र औरही-४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादव रहेका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालित ‘माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’ का लागि गाउँपालिका र उक्त कृषक समूहबीच १५ लाख रुपैयाँको सम्झौता भएको थियो।

सम्झौताअनुसार किसानलाई माछाका भुरा, दाना, चुना लगायतका सामग्री वितरण गर्नुपर्नेमा कम सामग्री दिएर पूरा काम भएको भनी फर्जी बिल बनाइएको थियो। सोही झुट्टा बिलका आधारमा ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी लिने-दिने कार्य भएको अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणमा तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माको किर्तेसमेत बाहिरिएको छ। शर्माले आफू प्रमुख प्रशासकीय अधिकृतको ओहदामा नरहेको अवस्थामा पनि सोही पदको हैसियत दुरुपयोग गरी सरकारी कागजातमा सहीछाप गरेर पेस गरेको अख्तियारले जनाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार सरकारी कागजात अनाधिकार रूपमा सच्याएको र हेरफेर गरेको कसुरमा थप सजायको मागदाबी गरिएको छ।

यसैगरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैत र लेखापाल कामतीले बदनियतपूर्वक झुट्टा बिलका आधारमा भुक्तानी प्रक्रिया अघि बढाएको र कृषक समूहका अध्यक्ष यादवले गैरकानुनी लाभ लिने कार्यमा मतियारको भूमिका खेलेको अख्तियारको दाबी छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चारै जना प्रतिवादीविरुद्ध बिगो रकम असुलउपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी लिइएको छ।

प्रकाशित: १८ भाद्र २०८३ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App