नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा कात्तिक १३ गतेदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कात्तिक १२ गतेदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘मोनथा’ को समेत प्रभाव रहने देखिएको छ।
महाशाखाका अनुसार कात्तिक १२ गते बुधबार कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
बुधबार राति देशभर सामान्यतया बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।
कात्तिक १३ गते बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ।
बिहीबार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ।
कात्तिक १४ गते शुक्रबार पनि देशका अधिकांश स्थानमा बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार राति पनि देशका अधिकांश हिमाली भूभागमा बादल लाग्ने र अन्य क्षेत्रमा सामान्यतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
कात्तिक १५ गते शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा अधिकांश स्थानमा बादल लाग्नेछ। अन्य भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
यसैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका भूभागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
प्रकाशित: ११ कार्तिक २०८३ ११:३५ बुधबार





