१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

अर्नब चक्रवातको प्रभावः शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको शक्ति क्षय हुँदै न्यूनचापीय प्रणालीमा परिणत भएपछि नेपालका अधिकांश स्थानमा वर्षा भइरहेको छ। शुक्रबार साँझसम्म देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने शनिबार बिहानसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको तीव्रता केही बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पछिल्लो १२ घण्टामा कोशी प्रदेशमा औसत करिब ४० मिलिमिटर, मधेशमा २० मिलिमिटर, बागमतीमा १५ मिलिमिटर र गण्डकी प्रदेशमा सात मिलिमिटर वर्षा भएको छ। 

वर्षाको क्रम पूर्वी क्षेत्रबाट क्रमशः बागमती र गण्डकी प्रदेशतर्फ सर्दै गएको उनले बताए। शुक्रबार साँझदेखि शनिबार बिहानसम्म यी चार प्रदेशमा वर्षाको तीव्रता केही बढ्न सक्ने र केही स्थानमा भारी वर्षा हुन सक्ने उनको भनाइ छ। उच्च हिमाली भूभागमा बाक्लो हिमपातको सम्भावनासमेत रहेको छ। 

उनका अनुसार ठूलो वर्षा भए पनि लामो समयसम्म कायम रहने सम्भावना कम छ। अधिकांश समय सिमसिम पानी पर्ने र ठूलो वर्षा भए पनि एकदेखि दुई घण्टाभन्दा बढी नटिक्ने अनुमान गरिएको छ। शनिबार दिउँसोसम्म वर्षा केही कम भए पनि मौसम पूर्ण रूपमा खुल्न समय लाग्ने उनले बताए। 

यद्यपि, छोटो समयको वर्षाले पनि केही स्थानमा आकस्मिक विपद् निम्त्याउन सक्ने भएकाले पहिरो, डुबान तथा हिमपहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्। 

यसैबीच, जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। 

विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। पर्यटकलाई उच्च हिमाली भूभागमा नजान र गइसकेका भए सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। 

वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य प्रभावित हुन सक्ने भएकाले मौसमको अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न पनि विभागले आग्रह गरेको छ। 

त्यस्तै, चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले अनुरोध गरेको छ।  

प्रकाशित: १३ कार्तिक २०८३ १७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App