सीमावर्ती जिल्ला कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। विशाल घाँसे मैदानमा सयौँको बथानमा बाह्रसिंगे देखिने यो निकुञ्ज पाटेबाघ हेर्नका लागि पनि उत्तिकै आकर्षक मानिन्छ। विशाल घाँसे मैदान, प्रशस्त आहारा प्रजाति र खानेपानी उपलब्ध भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा बढेको छ। थोरै क्षेत्रफलमा ५० पाटेबाघ रहेका छन्।
बाघ जंगलमा निश्चित इलाका छुट्याएर बस्ने गर्छ। संरक्षणकर्मीका अनुसार भाले बाघ आफ्नो इलाकाभन्दा बाहिर पनि निस्कँदैन र आफ्नो इलाकामा अन्य भाले बाघलाई आउन पनि दिँदैन।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले शुक्लाफाँटामा बाघका लागि आहारा प्रजाति प्रशस्त भएकाले कम क्षेत्रफलले कुनै समस्या नभएको बताएका छन्। बाघ गणना गर्दा ४९ बाघ निकुञ्जको कोर एरियाभित्र रहेको देखिएको उनले बताए। एक बाघ मात्र लालझाडी–मोहना कोरिडोरमा फेला परेको उनको भनाइ छ।
‘प्रशस्त आहारा प्रजाति भएकाले बाघ निकुञ्जभित्रै कोर एरियामा बसेर बाहिर ननिस्केका हुन्,’ उनले भने। दुई वर्षयता कुनै बस्तीमा पनि बाघले मान्छे खाएको घटना नघटेको उनी बताउँछन्।
आहारा प्रजाति प्रशस्त
शुक्लाफाँटामा प्रतिवर्ग किलोमिटर १ सय ४६ आहारा प्रजाति छन्। ‘बाघका लागि आहारा प्रशस्त र खानेपानी छ,’ उनले भने, ‘यसैले क्षेत्रफल कम भए पनि बाघको संख्या बढ्दै गएको हो।’
बाघका लागि धेरै आहारा प्रजाति पाउने नेपालमै बर्दियापछि शुक्लाफाँटा निकुञ्ज दोस्रो रहेको उनले बताए।
शुक्लाफाँटामा बाघका लागि वासस्थानको पनि राम्रो व्यवस्था छ। निकुञ्जभित्र प्राकृतिक ताल छन् भने १४ वटा कृत्रिम तालसमेत बनाइएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षेत्रफल कम भए पनि आहारा प्रजाति प्रशस्त भएकाले बाघका लागि अनुकूल रहेको छ। नेपालमै सबैभन्दा ठूलो घाँसे मैदान रहेको शुक्लाफाँटामा बाघका लागि आवश्यक पर्याप्त आहारा र खानेपानीको उपलब्धता रहेको छ।
‘बाघका लागि आहारा प्रशस्त र खानेपानी छ,’ उनले भने, ‘यसैले क्षेत्रफल कम भए पनि बाघको संख्या बढ्दै गएको हो।’
शुक्लाफाँटामा १६ वर्षमा ४२ बाघ बढे
बाघ निश्चित इलाकाभित्र बस्ने गर्छ। उसले आफ्नो एरिया छुट्याउन चारैतिर नाग्राले रुख कोतरेर, दिसा–पिसाब छोड्ने गर्छ, ताकि त्यस क्षेत्रमा अर्को बाघ नआओस्। पहिले एउटा भाले बाघ ५०–६० किलोमिटर क्षेत्रफलमा बस्ने भनिए पनि आहारा प्रजाति प्रशस्त भएमा १५–२० किलोमिटरमै भाले बाघ बस्ने संरक्षणकर्मी बताउँछन्।
‘पहिले धेरै ठूलो इलाका चाहिन्छ भनिन्थ्यो, पछिल्लो अध्ययनले आहारा प्रजाति प्रशस्त हुँदा १५–२० किलोमिटर क्षेत्रफलमा एउटा भाले बाघ र ३–४ वटा पोथी बाघ बस्ने गरेको देखाएको छ,’ संरक्षणकर्मी चौधरीले भने।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो चार वर्षको अवधिमा १४ वटा बाघ बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए।
वि.सं. २०८२ मा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या ५० पुगेको छ। यसअघि चार वर्षअघि, २०२२ को सर्वेक्षणमा ३६ वटा मात्र बाघ थिए।
त्यही प्रोटोकल र प्रविधि प्रयोग गरेर प्रत्येक वर्ष पनि बाघको गणना हुने उनी बताउँछन्। निकुञ्ज कार्यालयले २०२४ मा गरेको गणनामा यहाँ बाघको संख्या ४३ थियो। शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा २ गुणा २ किलोमिटरका ग्रिड बनाएर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा कम्तीमा १५ दिनसम्म राखिएको थियो।
तिनै स्वचालित क्यामेराले कैद गरेको तस्बिरका आधारमा बाघको संख्या यकिन गरिएको हो।
शुक्लाफाँटामा क्यामेरा ट्र्यापिङ गरेर सबैभन्दा पहिले सन् २००९ मा गणना हुँदा ८ वटा बाघ मात्र रहेको उनले बताए। १६ वर्षमा ४२ वटा बाघ बढेको उनले बताए।
मानव-बाघ द्वन्द्व
वरिपरि बस्ती रहेको शुक्लाफाँटामा बाघको संख्या वृद्धिले संरक्षणकर्मी उत्साहित भए पनि मानव र बाघबीचको द्वन्द्व चुनौती बनेको छ। स्थानीय बासिन्दा भने बाघको जोखिम बढ्न सक्ने कुराले चिन्तित बनेका छन्।
वरिपरि बस्ती रहेको शुक्लाफाँटाको ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमै ५० बाघ भएपछि मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्न ठूलो चुनौती देखिएको छ। यसअघि पनि बाघ बस्तीमा पसेर अथवा मेलापात गएकालाई बाघले आक्रमण गर्दा कयौँको ज्यान गइसकेको छ।
बाघको संख्या बढेसँगै बस्तीमा बाघबाट सर्वसाधारणको ज्यान जाने जोखिम बढेको स्थानीय बताउँछन्। बाघको संख्या बढाएर मात्र भएन, बाघबाट सर्वसाधारणको ज्यान नजाने कुरामा पनि राज्यले ध्यान दिनुपर्ने स्थानीय बताउँछन्।
शुक्लाफाँटामा अब बाघको संख्या नबढाइने
सन् २००९ मा बाघको पहिलो गणना हुँदा नेपालमा बाघको संख्या १ सय २१ थियो। रुसमा भएको बाघ सम्मेलनमा बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने घोषणा भएबमोजिम नेपालले पनि बाघ संरक्षणको योजना बनाएर लागू गरेको वरिष्ठ संरक्षण अधिकृत चौधरी बताउँछन्।
‘नेपालमा दोब्बर होइन, तेब्बर नै वृद्धि भएको छ,’ उनले भने। शुक्लाफाँटामा ८ वटा बाघबाट बढेर ५० वटा पुगेका छन्।
‘शुक्लाफाँटामा अब बाघ बढाउनु आवश्यक छैन, हामी बढाउँदैनौँ, बाघको संख्या पुग्यो,’ उनले भने, ‘अब संरक्षण र व्यवस्थापन गरिनुपर्छ।’
बाघको संख्या दोब्बर बनाउने सरकारको घोषणा पूरा भएकाले देशभर पनि संख्या बढाउनुभन्दा व्यवस्थापन गर्नुपर्ने संरक्षणकर्मीको राय छ।
‘बाघको संख्या बढाउनेभन्दा अब व्यवस्थापन गरिनुपर्छ,’ संरक्षणकर्मी वाग्लेले भने, ‘अब बाघको संख्या बढाउनुभन्दा व्यवस्थापनमा ध्यान दिनुपर्छ।’
अशक्त, बूढो वा समस्यामा परेको बाघको पहिचान गरेर आहाराको व्यवस्थासहित नियन्त्रणमा राख्ने उपाय गरिनुपर्ने उनी बताउँछन्। विश्वका १३ देशमा मात्र बाघ पाइन्छ। बाघ अढाई–तीन वर्षमा वयस्क भइसक्छ भने १६ देखि २० वर्षसम्म यसको आयु हुने गरेको विज्ञ बताउँछन्।
देशभरिमा बाघको संख्या बढेर ४ सय २९ पुगेको छ। सन् २००९ देखि प्रत्येक चार–चार वर्षमा देशभर एकै चरणमा बाघ गणना गरिने गरेको छ।
प्रकाशित: २५ श्रावण २०८३ १७:०८ सोमबार





-600x400.jpg)