५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचार गर्न आउने

यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो।

अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाख ६० र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ। तीमध्ये पाँच जना विशालु सर्पले डसेका थिए। यस्तै असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विशालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिए।

यस अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा लमजुङ्देखिका आउने गरेका छन्। अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचार गरिने गरेको उनले बताए।  

विशालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पहरूले टोक्ने गर्दछ। करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नशालाई असर पुर्याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उनले बताए।

विशालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आएको छ। अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उनले बताए। रासस

प्रकाशित: ५ श्रावण २०८२ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App