२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जिम्मेवारी र दायित्व बुझेको छु: प्रजिअ सेढाँई

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जिल्ला प्रशासन कार्यालयलाई एक प्रशासनिक युनिट मात्र समग्र राज्य व्यवस्थाको जिल्लास्थित संयन्त्रको रुपमा स्थापित गर्न उद्यत रहने बताएका छन् ।  

नयाँ प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेसँगै मंगलबार ताप्लेजुङका सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ सेढाँईले कानुन र आदेश परिपालनामा आफुले सम्झौता नगर्ने बताए ।  

तीन तहका सरकारबीचको समन्वय, विकास र सुशासनको तादम्यता र शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने विषयलाई आफूले जिम्मेवारी र दायित्वको रुपमा बुझेको प्रजिअ सेढाँईले बताए ।  

आर्थिक विकास तथा सामाजिक विकासका अभियानहरुमा आफूले सहजकर्ताको रुपमा भूमिका निर्वाह गर्ने प्रजिअ सेढाँईको भनाई छ ।

‘म जे भन्छु, त्यो गर्छु,त्यही भएर गर्न नसक्ने विषयलाई पहाड बनाएर भन्न पनि भन्दिन’ प्रजिअ सेढाँईले भने । उनले विगतमा भएका कामको निरन्तरता सँगै जिल्लाको समग्र सम्मुनतिका लागि आफुले पहलकदमी गर्ने विश्वास दिलाए ।  

पत्रकारिता पढाई र त्यसप्रतिको आफ्नो रुची प्रवल रहेको बताउँदै प्रजिअ सेढाँईले सूचनाको आदान–प्रदानमा कञ्जुस्याँई गर्नुपर्ने कुनै ठाउँ नरहेको समेत बताए । विकास पत्रकारितालाई बलियो आत्मसाथ गर्ने हो ‘पित पत्रकाारिता’क्रमशःहराउँदै जाने उनको विश्वास छ ।

पत्रकारिता क्षेत्र समाज सुधारको सूचक भएको बताउँदै उनले समाजलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रले आफ्नो भूमिका बलियो र प्रभावकारी बनाउनुपर्नेमा प्रजिअले जोड दिए ।  

ताप्लेजुङका साझा समस्याप्रति आफुले जानकारी लिन थालेको र त्यसको व्यवस्थापन तथा समाधानमा समेत आफ्नो सक्रियता बृद्धि गर्ने सेढाँईको भनाई छ ।

‘विगतमा पनि यहाँ राम्रै ढंगले सेवा प्रवाह भएको थियो,विगत भन्दा कम नहुने तर,केहि नयाँपन दिनेगरी आफुले प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्नेछु’ सेढाँईले बचन दिए ।  

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा र सम्पादन हुने कार्यमा आम सेवाग्राहीहरुको गुनासो नआउने गरी व्यवस्थापन गर्न आफुले कार्यकालभरी मेहनेत लगाउने प्रजिअ सेढाँईले बताए ।  

आफु लामो समय स्थानीय प्रशासनमा रहेर कार्य सम्पादन समेत गरेको आधारमा विकास र सुशासनकोबिचबाट समृद्धि खोज्न अग्रसर हुने प्रजिअ सेढाँईले बताए । लमजुङ स्थायी घर भएका प्रजिअ सेढाँईसंग २५ बर्षभन्दा बढी समय निजामति सेवामा आवद्ध भएको अनुभव छ ।  

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको गृह मन्त्रालय सरुवा भएसँगै राष्ट्रिय परिचपत्र तथा पञ्जीकरण विभागबाट ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएका छन् । 

प्रकाशित: १० भाद्र २०८२ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App