हिमाली जिल्ला मुस्ताङबाट कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीको जितसँगै कांग्रेसले विजयी खाता खोलेको छ। ३२ वर्षिय युवा नेता गौचनको यो समेत संघीय संसदमा दोश्रो यात्रा हो। यसअघि २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा पनि विजय भएका थिए।
थकालीका प्रतिश्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ पाएका छन्। तेश्रो स्थानमा रहेको रास्वपाका अधितीय चन्द्र थकालीले भने ७ सय ५९ मत मात्र पाएका थिए। ११ हजार ३ सय २८ जना मतदाता रहेको मुस्ताङमा ६ हजार ३ सय ८८ मत खसेको थियो। अघिल्लो पटकको निर्वाचनमा विजयी हुँदै गर्दा संसदमा पुग्ने उनी सबैभन्दा कान्छो सदस्य थिए।
नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनी थासाङ गाउँपालिकाको लेतेका बासिन्दा हुन। विद्यार्थी समयदेखि नै कांग्रेसको राजनीति गरेका उनले जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताए।
हुन त योगेश सानैदेखि राजनीतिक संस्कारमा हुर्किएका व्यक्ति हुन। तर, देशको जनमतले युवाको खोजि गरिरहँदा उनलाई यो पटक केही सहज पनि बन्यो। पछिल्लो पुस्ताको परिवर्तन खोज्ने चाहना अनुसार नै गौचन निर्वाचित भएका छन्। मुस्ताङको राजनीतिमा लामो अनुभव बटुलेका कांग्रेस नेता रोमी गौचन थकालीका छोरा उनले सानैदेखि राजनीतिक संस्कार सिकेकाले पनि दोश्रो पटक संसद यात्रामा सहभागिता सुनिश्चत हुन पुगेको बताए। अघिल्लो पटकको निर्वाचनमा योगेशले खसेको ७ हजार २ सय ३० मत मध्ये ३ हजार ९ सय ९२ मत पाएका छन्। उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका थिए।
‘नीतिका आधारमा जनताले अनुमोदन गरेका हुन। त्यही भएर मैले जनताको अनुमोदनलाई कमजोर हुन दिनेछैन,’ विजयी भएसँगै योगेशले नागरिकसँग भने, ‘अघिल्लो र अहिले गरेर दुइपटक जिताएर पठाउनु भएको छ।’ जिल्लाका विकासका मुद्धालाई प्राथमिकता दिने उनले बताए। हिमाली अर्थतन्त्र, माटो सुहाउँदो र जनताको माग अनुसार कामलाई प्राथमिकता दिने उनले बताए।
.jpg)
‘मागका आधारमा काम गर्ने हो। यो मेरा लागि पनि सुनौलो अवसर हो,’ उनले भने। राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ भएको अवस्थामा आफु पनि त्यही अनुसार अघि बढ्ने उनले सुनाए। ‘राजनीतिमा साच्चै भन्ने हो भने अहिले ‘आइस ब्रेक’ पनि भएको छ, मैले पनि त्यही अनुसार गति लिनैपर्छ,’ उनले भने।
अघिल्लो पटकको कार्यकाल पुरा हुन नसक्दा आफुले गर्नुपर्ने केही काम अधुरा रहेको र अहिले ती काम पुरा गर्ने अवसर पाएको उनले बताए। राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बेनी–जोमसोम–कोरलाको स्तरोन्तीलाई प्राथमिकता दिने आफ्नो प्राथमिक योजना रहेको गौचनले बताए।
त्यस्तै उपल्लो भेगका बासिन्दाले निषेधित क्षेत्रका कारण भोग्नुपरेको कठिनालाई पनि नीतिगत रुपमा सच्चाउन प्रयास गर्ने उनको भनाई छ। जनआकांक्षा अनुसार निषेधित क्षेत्रको व्यवस्थापन हुन नसकेको उनले बताए। ‘एउटै देशका नागरिकले दुईवटा देशका नागरिकले झै व्यवहार खेप्नुपरेको छ,’ उनले भने।
त्यसबाहेक पर्यटन, कृषि, स्याउ, आलु उत्पादन र जलवायु परिवर्तनबाट जिल्लाका बासिन्दाले खेप्नुपरेको समस्यालाई समाधान गर्नका लागि नीतिगत रुपमा प्रयास गर्ने उनले बताए। नेतृत्वमा आउनु मात्र महत्वपूर्ण नभइ आइपरेका चूनौतीलाई सम्हाल्नुपर्ने अवस्था रहेको पनि उनले बताए।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:३८ शुक्रबार





