२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

कीर्तिपुरको त्यो दिन अझै झलझली सम्झना आउँछ, आज फ्लडलाइट बलेको देख्दा गर्व लाग्यो : दाहाल

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दै छन्। यस अवसरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लामो सन्देश जारी गर्दै कीर्तिपुर मैदानको पुरानो दुरावस्थादेखि फ्लडलाइट बलेको नयाँ युगसम्मको यात्रालाई भावुक स्मरण गरेका छन्।

उनले लेखेका छन्, ‘नेपालको स्वाभिमान र पहिचानको प्रतीक बन्न सफल नेपाली क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ। यस सुखद अवसरमा प्रतियोगितामा सहभागी सबै टिम, नेपाल क्रिकेट संघका पदाधिकारी, व्यवस्थापक तथा विश्वभर रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

दाहालले अगाडि भनेका छन्, ‘आज शुभकामना दिइरहँदा मलाई २०७९ चैत २ गतेको कीर्तिपुरस्थित खेल मैदान झलझली सम्झनामा आइरहेछ। त्यो दिन युएईविरुद्ध आइसिसी विश्वकप लिग–टुको अन्तिम खेलमा हामीले ऐतिहासिक जीत हासिल गरेका थियौँ। तर जीतको खुसीसँगै खेलमैदानको दुरावस्थाविरुद्ध दर्शकहरूको आक्रोश पनि उस्तै थियो।’

उनले थपे, ‘त्यस दिन खेल हेरेर फर्कँदा मनमा मिश्रित भावना थियो। भोलिपल्टै, बालुवाटारमा विजेता खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गर्दै मैले कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने निर्देशन राष्ट्रिय खेलकुद परिषद्लाई दिएको थिएँ। सोही अनुसार वार्षिक बजेट विनियोजन भएर काम सुरु भयो। तर कानुनी, प्राविधिक र प्रशासनिक अनेक कारणले निर्माणको काम समयमै पूरा हुन सकेन।’

अघिल्लो सरकारले सोही कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ। आफू सरकारबाट बाहिरिएपछि प्रतिपक्षी दलको नेताकै हैसियतमा समेत संसदबाट यस विषयमा निरन्तर खबरदारी आएको कुरा पनि उनले स्मरण गराएका छन्। पूर्वप्रधानमन्त्री दाहाल लेख्छन्, ‘अन्ततः आज एनपिएलको दोस्रो संस्करण हामीले फ्लडलाइट जडित स्टेडियममा हेर्ने गौरव प्राप्त गरेका छौँ। यसका लागि नेपाल सरकार, राखेप, क्यान, खेलाडी, क्रिकेटप्रेमी दर्शक लगायत सबैको सकारात्मक पहल प्रशंसनीय छ।’

संयोजक दाहालका अनुसार क्रिकेट खेलले विश्व समुदायमा नेपालको स्वाभिमान उँचो बनाएको छ। यो संस्करणले नेपाली क्रिकेटको विकास, विस्तार र पेशागत उचाइमा नयाँ ऊर्जा थप्ने अपेक्षा उनको छ। साथै, राष्ट्रिय गौरवका रूपमा घोषणा भएका अन्य रंगशालाहरू पनि सरकारले यथाशीघ्र निर्माण कार्य अघि बढाउनुपर्ने माग उनको छ। 

प्रकाशित: १ मंसिर २०८२ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App